वीरगन्ज :

संघीय शिक्षा ऐन चाँडै लागू हुने: शिक्षा सुधारमा सरकार प्रतिबद्ध

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.7kViews
1445 Shares

काठमाडाैँ,१५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन चाँडै कार्यान्वयनमा आउने बताएकी छिन्। आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफलमा उनले ऐन अहिले संसदीय समितिमा छलफल प्रक्रियामा रहेको र चाँडै लागू हुने जानकारी दिइन्।

मन्त्री भट्टराईका अनुसार शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कानुनी संरचना आवश्यक छ। “कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई बलियो बनाउन सरकार प्रतिबद्ध छ,” उनले भनिन्। सहकार्य, समन्वय, र सहअस्तित्वका माध्यमबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उनले बताइन्।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देशको विकासको मुख्य आधार भएकोले तीन तहका सरकारले समन्वय गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए। संघीय शिक्षा ऐनको ढिलाइले शिक्षा क्षेत्रको प्रगति रोकिएको गुनासो गर्दै उनले ऐन छिटो ल्याउन संघीय सरकारलाई आग्रह गरे।

मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयहरूको कमजोर अवस्थालाई सुधार गर्न विद्यालय गाभ्ने नीति अघि सार्न सुझाव दिए। “दुईभन्दा बढी विद्यालय गाभेमा सवारी साधन र भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नेछ,” उनले जानकारी दिए।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन बालमैत्री र प्रविधिमैत्री शिक्षाको अवधारणा अघि बढाउनुपर्ने बताए।

शिक्षा सचिव डा. दीपक काफ्ले र प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले शिक्षामा समन्वयको महत्व औंल्याउँदै तीन तहका सरकारहरूबीच सहकार्य हुनुपर्ने धारणा राखे।

सरकारका तर्फबाट शिक्षा सुधारका पहलहरूलाई गति दिन संघीय शिक्षा ऐन कार्यान्वयनमा ल्याइने प्रतिवद्धताले शिक्षा क्षेत्रलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *