वीरगन्ज :

संघीय गणतान्त्रिक आन्दोलन सशक्त बनाउन अन्सारीको निर्देशन

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.9kViews
1727 Shares

सर्लाही,२२ असार । नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीले संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको प्रमुख आतिथ्यमा सर्लाही जिल्ला उपाध्यक्ष सिकन्दर राउतको अध्यक्षतामा सम्पन्न बैठकले यी महत्वपूर्ण एजेन्डाहरूमाथि प्रकाश पारेको हो।

बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीताराम शाह, केन्द्रीय सदस्य फातमा खातुन, केन्द्रीय सदस्य अलि शेख, मुस्तकिम अन्सारी लगायत जिल्ला कमिटी सदस्यहरू र स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो। जिल्ला सचिव रजी अहमदले बैठक सञ्चालन गरेका थिए।

पार्टीले आगामी असार २५ गते सर्लाहीको मलंगवामा संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजना गरिने जनजागरण अभियान अन्तर्गतको अन्तरक्रिया तथा सभा कार्यक्रमलाई भव्य बनाउन कार्यकर्ताहरूलाई सक्रिय सहभागिताको निर्देशन दिएको छ। यस कार्यक्रमले जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने र पार्टीका उद्देश्यहरूलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

बैठकले पार्टी संगठनलाई तल्लो तहसम्म सशक्त र समावेशी बनाउने ठोस योजना अघि सारेको छ। सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्र, आठवटा प्रदेशसभा क्षेत्रका साथै नगरपालिका, गाउँपालिका र वडास्तरसम्म कमिटी निर्माण गर्ने निर्णय गरिएको छ। साथै, पार्टीले जिल्ला कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र जनताका समस्या समाधानमा सक्रिय सहभागी हुने नीति अबलम्बन गर्ने भएको छ।

बैठकमा बोल्दै अध्यक्ष रिजवान अन्सारीले संघीय गणतान्त्रिक गठबन्धन नेपाली जनताको अधुरो सपना पूरा गर्न, उत्पीडित वर्गको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचार र बेरोजगारीको अन्त्य, सुशासन, समानता र सामाजिक न्यायको स्थापनाका लागि बनेको बताए। उनले अब जनतासँग सीधा सम्पर्क गरेर परिवर्तनका लागि अघि बढ्ने समय आएकोमा जोड दिए। अन्सारीले सम्पूर्ण नेपाली जनतालाई उक्त जनजागरण अभियानका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी भई संघीय समावेशी लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउन आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *