वीरगन्ज :

संकटग्रस्त क्षेत्र घोषणा भ्रष्टाचारको ढोका खोल्ने चाल हो : सांसद साह

श्रेणी : प्रदेश

23 hours
Pradeep Sah
3.0kViews
1447 Shares

बीरगन्ज,२० साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहतको नाममा भ्रष्टाचार गर्ने खेल शुरु गरेको आरोप लगाएका छन्।

मंगलबार संसद्को बैठकमा बोल्दै सांसद साहले कुनै स्पष्ट योजना र बजेट विनाको घोषणा सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउने बताए। “न योजना छ, न बजेट छ केवल जनतालाई झुटो आश्वासन र निकायहरूलाई छल्ने चतुराइ मात्र देखिन्छ,” सांसद साहको आरोप थियो।

साहले प्रधानमन्त्रीले सार्वजनिक रूपमा घोषणा गरेको ५०० डिप ट्युबवेलको विषयमा सम्बन्धित सरकारी निकायहरू नै बेखबर रहेकोप्रति आपत्ति जनाए। उनले भने, “न सिँचाइ विभागलाई थाहा, न खानेपानी विभागलाई खबर – कसरी हुन्छ यस्तो योजना? के हावादारी घोषणाले पीडितलाई राहत दिन्छ, कि उल्टै दुःख थप्छ?”

संकटग्रस्त क्षेत्र घोषणापछि सार्वजनिक खरिद ऐनको प्रावधान बाइपास गर्न सकिने र आकस्मिक दफा प्रयोग गरेर बिना प्रतिस्पर्धा काम गराउने बाटो खुल्ने भन्दै साहले सरकारको नियतमै संकाको औँलो ठड्याए।

“संकटकालीन अवस्थामा पारदर्शिता र जवाफदेहिता अझ आवश्यक पर्छ, तर यहाँ त अपारदर्शी ढंगले बजेटको दुरुपयोग गर्ने संकेत देखिँदैछ,” उनले चेतावनी दिए।

सांसद साहले उपचारको पूर्व तयारी र योजनाबिना रोगको मात्र घोषणा गर्नु निरर्थक हुने भन्दै, पीडितका लागि व्यवहारिक राहत कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *