
श्रेणी : अन्तर्राष्ट्रिय
श्रीलंकामा आयमा कमी आएको र आपूर्तिपक्षको अवरोधले उत्पादनमा प्रतिकूल प्रभाव पारेको भन्दै विश्व बैङ्कले यहाँको अर्थतन्त्रमा सन् २०२३ मा ४ दशमलव ३ प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण गरेको छ । आन्तरिक तथा बाह्य आर्थिक सङ्कट र वित्तीय असन्तुलन साथै तरल राजनीतिक स्थितिले देशको आर्थिक परिदृश्यमा महत्वपूर्ण अनिश्चितता पैदा गरेको छ ।
विश्व बैंकले आफ्नो दुई वर्षको अद्यावधिकमा देशको आर्थिक सङ्कटको मूल कारणहरूलाई सुधार गर्न र भविष्यको सङ्कटहरू रोक्न बलियो र लचिलो अर्थव्यवस्था निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस एच हदाद–जर्भोसका अनुसार श्रीलङ्काको आर्थिक सङ्कटले गहिरो प्रभाव पारेको र सन् २०२१ देखि २०२२ को बीचमा ५० लाखभन्दा बढी रोजगारी गुमेको छ ।
थप २७ लाख मानिस गरिबीको रेखामुनि फसेका छन् । विश्व बैंकका अनुसार सन् २०२३ र त्यसपछि पनि अर्थतन्त्रले महत्वपूर्ण चुनौतीको सामना गर्नुपर्नेछ र तल्लो स्तरको बाह्य व्यापार सन्तुलनले आन्तरिक व्यापार, आर्थिक गतिविधि, रोजगारी र आयमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

प्रतिक्रिया