
श्रेणी : अपराध
रौतहट,१६ असार । झण्डै तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक युवकलाई रौतहट प्रहरीले अन्ततः पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रौतहटको ईशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरी हुन्।
प्रहरीका अनुसार मन्सुरीमाथि २०७८ साल माघ २६ गते आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको हत्या गरेको गम्भीर आरोप लागेको छ। घटनाको दिन चाँदनीको शव गाउँनजिकैको गहुँबारीमा फेला परेको थियो। प्रहरीले घटनास्थलमा घाँटीमा सल बेरेको र मुखभित्र पनि सल कोचिएको अवस्था भेटिएको जनाएको छ, जसले हत्या भएको पुष्टि गर्छ।
हत्या पछि मन्सुरी फरार थिए र तीन वर्षसम्म प्रहरीको निगरानीबाट बच्दै आएका थिए। तर, हालै जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेपछि मन्सुरीमाथि रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया