वीरगन्ज :

श्रमिक बिना समृद्धि सम्भव छैन : एमाले उम्मेदवार प्रदीप यादवको कडा चेतावनी

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.6kViews
1235 Shares

वीरगन्ज, २३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले श्रमिक वर्गको हक–अधिकारका पक्षमा निरन्तर र स्पष्ट रूपमा उभिने एकमात्र राजनीतिक शक्ति एमाले नै भएको दाबी गरेका छन्। उनले श्रमिकको नाममा राजनीति गर्ने तर व्यवहारमा अवसरवाद देखाउने दलहरूबाट सचेत रहन श्रमिक समुदायलाई आग्रहसमेत गरे।
परवानीपुरमा शुक्रबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेशद्वारा आयोजित श्रमिक भेलालाई सम्बोधन गर्दै यादवले श्रमिकको पसिना, संघर्ष र बलिदानमै देशको अर्थतन्त्र अडिएको उल्लेख गरे। “श्रमिकको अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल केवल नारा मात्र बन्छ,” उनले स्पष्ट शब्दमा भने।


पूर्वमन्त्रीसमेत रहेका यादवले श्रमिक वर्ग राजनीतिक रूपमा जागरूक र संगठित भए मात्र गलत राजनीति परास्त गर्न सकिने बताए। “श्रमिक नजागे परिवर्तन सम्भव हुँदैन। श्रमिक एकजुट भयो भने कुनै पनि अवसरवादी राजनीति टिक्न सक्दैन,” उनले जोड दिए। श्रमिकलाई केवल चुनावी भोट बैंकको रूपमा हेर्ने प्रवृत्तिप्रति उनले कडा आलोचना गर्दै एमालेले सधैं श्रमिकलाई नीति निर्माणको केन्द्रमा राख्दै आएको दाबी गरे।
यादवले आफू संसदमा रहँदा न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, श्रम ऐनको प्रभावकारी कार्यान्वयनजस्ता विषयलाई निरन्तर उठाउँदै आएको स्मरण गराए। “संसदमा श्रमिकका आवाज दबिन नदिने मेरो संघर्ष निरन्तर रह्यो,” उनले भने।
उनले एमाले भाषणमा सीमित नभई व्यवहारमै श्रमिकमैत्री नीति र कार्यक्रम अघि बढाउँदै आएको उल्लेख गर्दै श्रमिकका छोराछोरीको शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्नु पार्टीको प्राथमिकता रहेको बताए। विशेषगरी बारा–पर्सा औद्योगिक करिडोरमा देखिएका श्रमिक समस्याप्रति एमाले गम्भीर रहेको उनको भनाइ थियो।
उद्योगमा हुने श्रमिक शोषण, असुरक्षित कार्य वातावरण, समयमा तलब नपाउने अवस्था, सामाजिक सुरक्षा कोषमा देखिएका अनियमितताजस्ता विषयलाई प्राथमिकताका साथ समाधान गरिने प्रतिबद्धता यादवले व्यक्त गरे। उनले उद्योगी र श्रमिकबीच सन्तुलन कायम गर्दै दुवै पक्षलाई लाभ हुने दीर्घकालीन नीति एमालेले अघि सारेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्ना समस्या खुलस्त रूपमा प्रस्तुत गर्दै एमाले नेतृत्वबाट ठोस र परिणाममुखी समाधानको अपेक्षा व्यक्त गरे। भेलाले आगामी निर्वाचनमा श्रमिक वर्ग एकजुट भएर नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने संकल्पसमेत गरेको आयोजकले जनाएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेश पर्साको अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, जिल्ला सदस्य सुन्दर कुर्मी, ट्रेड युनियनका प्रदेश उपाध्यक्ष अमर यादवलगायत नेताहरूले मन्तव्य राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *