वीरगन्ज :

श्रमिकको तलब नदिने उद्योगमाथि कडा कारवाही तीन उद्योगको खाता र सम्पत्ति रोक्का

श्रेणी : अपराध

13 hours
Pradeep Sah
2.4kViews
1185 Shares

जनकपुरधाम,१९ वैशाख । श्रमिकको तलब तथा सेवा सुविधा नदिने धनुषास्थित तीन उद्योगमाथि सरकारले कडा कारवाही गरेको छ। जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयको निर्देशनमा ती उद्योगका बैंक खाता र चल-अचल सम्पत्ति रोक्का गरिएको हो।

कारवाहीमा परेका उद्योगहरूमा महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल्स प्रालि, जानकी मेडिकल कलेज र बुद्ध प्रारंगिक मल उद्योग परेका छन्। ती उद्योगहरूले श्रमिकको लाखौँ रुपैयाँ बक्यौता तिर्न बाँकी राखेका थिए। विशेषगरी एभरेष्ट पेपर मिल्सको उत्पादन दुई वर्षदेखि नै बन्द छ, तर त्यसले करिब २५० श्रमिकलाई करिब १० करोड रुपैयाँ तलब नदिएको श्रम कार्यालयले जनाएको छ।

श्रम तथा रोजगार कार्यालय जनकपुरधामका प्रमुख दिवाकर भुजेलका अनुसार, श्रम अदालतको आदेश नमानिएको, श्रमिकका उजुरी दोहोरिरहेकाले खाताहरू रोक्का गर्नुपरेको हो। “श्रमिकलाई बक्यौता तलब तिर्ने नहुन्जेल ती उद्योगका खाता सञ्चालनमा आउन पाउने छैनन्,” उनले बताए।

चालु आर्थिक वर्षमा कार्यालयमा ४६ वटा श्रमसम्बन्धी उजुरी परेका छन्, जसमा सबैभन्दा धेरै १५ उजुरी एभरेष्ट पेपर मिल्सविरुद्ध छन्। कार्यालयले हालसम्म ११२ वटा उद्योग प्रतिष्ठानमा श्रम ऐन कार्यान्वयनबारे निरीक्षण गरेको छ। साथै, बाल श्रम र श्रम अडिटसम्बन्धी गरी २३० भन्दा बढी निरीक्षण गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *