
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले गरेको गतिविधि पार्टीको विधि र विधानविपरीत भएको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कोइराला पक्षको गतिविधिलाई आफूहरूले नजिकबाट नियालिरहेको बताएका हुन्।
उनले भने, ‘उहाँहरूको गतिविधि वान्छनीय होइन। सबै निर्णय सहमतिबाटै भएका छन्। त्रुटि हुनसक्छ ठूलो संख्यामा तयार पार्दा तर हामीले पक्ष र विपक्ष बनाएका छैनौँ।’
उनले गठबन्धनमा सिट बाँडफाँटको कुरा मिलिसकेपछि केही संशोधन हुनसक्ने बताए । उनले उम्मेदवार चयनमा एकलौटी गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।
उनले भने, ‘उहाँहरूले भनेको जस्तो कुरामा सत्यता छैन। उहाँहरूकै सहभागितामा निर्णय भएको छ। कुनै दुविधामा रहेर शंका गर्नुपर्ने आवश्यकता छैन। संलग्न भएका साथीहरूलाई भन्न चाहन्छु सबै नेताहरू बसेर नै निर्णय गरेको हो। उहाँहरूको गतिविधि पार्टीअनुसार भन्दा बाहिरको हो।’
उनले पार्टीविरुद्धको गतिविधि गर्नेलाई कारवाही गर्ने चेतावनीसमेत दिए। उनले गठबन्धनमा सिट बाँडफाँट केही दिनमा टुंगिने दाबी गरे । उनले पार्टीले बनाएको मापदण्डअनुसार टिकट वितरण हुने प्रष्ट पारे।

प्रतिक्रिया