वीरगन्ज :

शिक्षक आन्दोलनले पर्सामा विद्यार्थी भर्ना अभियान ठप्प, विद्यालयहरू सुनसान

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.4kViews
1363 Shares

बीरगन्ज,०४ वैशाख । शिक्षकहरूको जारी आन्दोलनका कारण पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ। सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्दोलनका कारण न त भर्ना प्रक्रिया सुरु हुन सकेको छ, न त विद्यालयहरूमा पठनपाठन नै सुचारु भएको छ।

पर्सामा हाल ३६७ सामुदायिक र १५० निजी विद्यालयसहित कुल ५१७ वटा विद्यालय सञ्चालनमा छन्। तर, देशभरका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत रहेकाले पर्सामा समेत विद्यार्थी भर्ना अभियानले गति लिन सकेको छैन।

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका समन्वय अधिकारी हरि राउतका अनुसार आन्दोलनकै कारण बुधबार तय गरिएको कक्षा १२ का केन्द्राध्यक्षहरूसँगको अन्तर्क्रिया कार्यक्रमसमेत स्थगित गरिएको छ। साथै, विद्यालय खातामा पाठ्यपुस्तकका लागि रकम पठाइएको भए पनि विद्यालय बन्द भएकाले विद्यार्थीलाई किताब वितरण गर्न सकिएको छैन।

वीरगञ्ज महानगरपालिका बाहेक पर्साका अन्य पालिकाहरूमा कक्षा ८ को नतिजा अझै सार्वजनिक हुन सकेको छैन। सामुदायिक विद्यालयहरूले प्रकाशन गर्नुपर्ने वार्षिक परीक्षाफल पनि अझै रोकिएको छ।

जिल्लाका धेरै सामुदायिक विद्यालयहरूले सूचना प्रकाशित गर्दै वार्षिक नतिजा, विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

पटेर्वासुगौलीका पूर्वअध्यक्ष हरिनारायण चौधरीले आन्दोलनरत शिक्षकको माग तत्काल सम्बोधन गर्दै शैक्षिक वातावरण पुनः सुचारु गर्न सरकारसँग माग गरेका छन्। “शिक्षकहरू आन्दोलनमा छन्, विद्यालय बन्द छन्। यस्तो अवस्था सधैं रहन सक्दैन। सरकार गम्भीर होस्,” उनले भने।

शिक्षकहरूले यसपटकको आन्दोलनलाई निर्णायक बनाउने अडान लिएका छन्। उनीहरूको अनुपस्थितिमा विद्यार्थी, अभिभावक र विद्यालय प्रशासन त्रसित छन्। आन्दोलन चाँडै टुंगोमा नपुग्ने हो भने पर्सा लगायत देशभरको शैक्षिक क्यालेन्डरमा गम्भीर असर पर्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *