
श्रेणी : प्रदेश
काठमाडौँ,४ वैशाख । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षा शिक्षकहरूको आन्दोलनका कारण अन्योलमा परेको छ। आन्दोलन चर्कँदै जाँदा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन नै संकटमा परेको जनाएको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षकमैत्री समाधान नखोजिएसम्म परीक्षा सञ्चालन असम्भव हुने स्पष्ट पारेका छन्। “शिक्षकहरू नै नहुने हो भने परीक्षा कसरी लिने? हामी अझै पनि आशावादी छौं कि समाधान हुनेछ,” उनले भने।
शिक्षकहरूको आन्दोलन जारी रहेकाले परीक्षा समयमा हुने वा नहुने भन्ने विषयमा बोर्ड स्वयं अन्योलमा रहेको छ। यद्यपि, बोर्डले आन्तरिक तयारी भने निरन्तर अगाडि बढाइरहेको छ।
बोर्डले एक विज्ञप्तिमार्फत शिक्षकहरूलाई परीक्षामा सहभागी भई आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ। “विद्यार्थीको भविष्य र सरकारको लगानी दुवैलाई दृष्टिगत गर्दै परीक्षालाई सफल बनाउन सबैको सहकार्य आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।
यसबीच नेपाल शिक्षक महासंघले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म कुनै पनि परीक्षा प्रक्रिया अघि नबढाउने अडान लिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने, “कक्षा १२ को परीक्षा एक साता पछाडि गर्दा देशमा केही बिग्रँदैन। ऐन पारित भएपछि हामी आफैँ परीक्षाको नेतृत्व गर्छौं।”
विद्यालय तहको अन्तिम राष्ट्रिय परीक्षा भएकोले विद्यार्थीहरू कक्षा १२ को परीक्षा प्रती निकै चासोका साथ तयारीमा छन्। बोर्डका अनुसार कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा व्यवस्थापन दुवैमा शिक्षकहरूको प्रत्यक्ष संलग्नता आवश्यक रहेकोले उनीहरूको सहभागिता अत्यावश्यक छ।
बोर्डले विद्यार्थी र अभिभावकलाई संयमित रहन र नियमित तयारी जारी राख्न आग्रह गर्दै समाधानको बाटो चाँडै खुल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया