
श्रेणी : प्रदेश
काठमाडौँ,२५ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा छुट उपलब्ध गराउन गृहकार्य अघि बढाएको छ। निजामती कर्मचारीले पाउँदै आएको यो सुविधा शिक्षकहरूले पनि प्राप्त गर्नुपर्ने भन्दै मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग राय सुझाव माग गरेको छ।
शिक्षामन्त्री विद्या भट्टराईका अनुसार, एक महिनाअघि शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै निजामती कर्मचारी सरह शिक्षकलाई पनि स्वास्थ्य उपचारमा छुट दिनुपर्ने प्रस्ताव राखेको थियो।
“शिक्षकलाई उपचार खर्चमा सहुलियत दिनुपर्ने स्पष्ट धारणा राखेका छौँ। स्वास्थ्य मन्त्रालयले राय सुझाव दिएपछि अर्थ मन्त्रालयमा प्रक्रिया अगाडि बढाइनेछ,” शिक्षामन्त्री भट्टराईले बताइन्।
स्वास्थ्य मन्त्रालयले राय दिएपछि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पत्राचार गर्नेछ। अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएपछि शिक्षकहरूले पनि निजामती कर्मचारीसरह उपचार खर्चमा छुट पाउने व्यवस्था हुने बताइएको छ।
यो कदमले शिक्षकहरूलाई आर्थिक राहत दिने र उनीहरूको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षामन्त्री भट्टराईका अनुसार, यो प्रक्रिया छिटो अघि बढाउन मन्त्रालय प्रतिवद्ध छ।


प्रतिक्रिया