
श्रेणी : अपराध
जनकपुर,२३ असार । शिक्षककै यौन दुर्व्यवहार सहन नसकेपछि सिरहाका अभिभावक आक्रोशित बनेका छन्। गोलबजार नगरपालिका–७ स्थित जनता नमूना माध्यमिक विद्यालयमा सोमबार अभिभावकले प्रदर्शन गर्दै विद्यालय परिसरमा ढुंगामुढा गरेका छन्।
विद्यालयका शिक्षक हरि श्रेष्ठले कक्षा ५ मा अध्ययनरत १३ वर्षीया दलित छात्रासहित कैयौँ छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएको विद्यार्थी र अभिभावकको आरोप छ। सुरुमा पीडित छात्राले विद्यालयकै एक शिक्षिकालाई गुनासो गरेकी थिइन्। तर, सुनुवाइ नभएपछि आइतबार पीडितकी आमा आफैं विद्यालय पुगेर प्रधानाध्यापक ब्रम्हदेव सिंह र अन्य शिक्षकलाई घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि विद्यालयमा गाइँगुइँ चलेपछि थप छात्राहरूले पनि आफूहरू यौन दुर्व्यवहारको सिकार बनेको बताएका हुन्।
विद्यार्थीहरूका अनुसार शिक्षक श्रेष्ठले अश्लील कुरा गर्ने, शारीरिक रूपमा गोप्य अंगमा छोइदिने जस्ता दुर्व्यवहार गर्दै आएका छन्। ‘लाज र डरले खुलेर भन्न सकेनौं, तर श्रेष्ठ सरको चालचलन राम्रो छैन भनेर पटक–पटक भनेका थियौं,’ एक छात्राले भनिन्। यस्ता दुर्व्यवहारबाट कम्तीमा १० जना भन्दा बढी छात्रा पीडित भएको अभिभावकहरूको दाबी छ।
शिक्षक श्रेष्ठ एमाले स्थायी समिति सदस्य तथा सांसद लीलानाथ श्रेष्ठका नातामा पर्ने मामा भएको र त्यसकै आडमा उनीमाथि कारबाही हुन नसकेको अभिभावक बताउँछन्। ‘ऊ सामान्य शिक्षक भए पनि सबैभन्दा शक्तिशाली छ। उसको संरक्षणमा जे गरे पनि छुट छ भन्ने मानसिकता बनाइएको छ,’ स्थानीय अभिभावक रमेश महतोले भने, ‘अब गम्भीर छानबिन र कडा कारबाही हुनुपर्छ।’
अभिभावक र विद्यार्थीको प्रदर्शनपछि प्रहरीले शिक्षक श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार यौन दुर्व्यवहारको आरोपमा परेका चार जना छात्राको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ र त्यसकै आधारमा कानुनी प्रक्रिया अघि बढाइने छ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक सिंहसँग सम्पर्क प्रयास गर्दा प्रतिक्रिया लिन सकिएको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।


प्रतिक्रिया