श्रेणी : BANNER
वीरगंज (पर्सा), २७ चैत / वीरगंज महानगरपालिकाले यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म तीन दिवसीय रात्री बजारको आयोजना गर्ने भएको छ । नयाँ वर्ष २०८० लाई स्वागत गर्दै पर्यटन, होटल व्यवसाय एवं रातिको समयमा पनि व्यापार गर्न सकिने योजना सहित ३ दिवसीय रात्री बजारको आयोजना गर्न लागिएको हो ।
आर्थिक राजधानीको रुपमा चिनिने वीरगंज महानगरभित्र भारतीय पर्यटक भित्र्याउने, होटल व्यवसायलाई थप प्रभावकारी बनाउने मुख्य योजना सहित रात्रि बजारको आयोजना गरिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । वीरगंज महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख सिंहले रात्री बजारले वीरगंजको अर्थतन्त्र थप चलायमान हुनुका साथै रातिको समयमा पनि व्यापार गर्न सकिन्छ भन्ने व्यवथा परिवर्तन गर्नको निम्ति वीरगंजमै पहिलो पटक रात्री बजारको आयोजना गर्न लागिएको बताए ।
रात्री बजारको लागि तीन दिन नेपाल भारतको मुख्य सिमाना वीरगंज भन्सार नाका २४ औं घण्टा खुल्ला रहने उनको भनाई छ । रातिको १० बजे नेपाल भारतको नाका बन्द हुने, वीरगंज बजारको सम्पूणर् व्यापारहरु बन्द हुने परिपाटीलाई अन्त्य गर्दै विभिन्न ठूलठूला देशहरुको सहर जस्तै रातीमा पनि व्यापार व्यावसाय संचालन गर्न सकिने परिपाटी बसाउनको लागि परीक्षणको निम्ति ३ दिने रात्री बजारको आयोजना गर्न लागिएको नगर प्रमुख सिंहको भनाई छ । पहिलो चरणमा ३ दिन मात्रै बजार लाग्नेछ भने त्यस पश्चात आउने फिड ब्याकको आधारमा हप्तामा कति दिने रात्री बजार लगाइने हो भन्ने निणर्य गरिने बताए ।
यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गरेको छ । निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागिएको भन्दै नगर प्रमुख सिंहले यसले यहाँका व्यवसायी तथा आम नगरवासीले रात्री बजारबाट लाभ लिन सक्ने विश्वास लिएको बताए । रात्रि बजारमा तीन दिनको स्टलको शुल्क १ हजार रुपैयाँ मात्रै लिइएको छ ।
आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्री बजारमा १०० भन्दा बढि थरिथरिका स्टलहरु रहने छ । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु राखिनेछ । रात्री बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेन छ । नगर प्रमुख सिंहले रात्री बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसँगको सहकार्यमा सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाइएकोले ढुक्क भएर रात्रि बजारको लाभ उठाउन नगरवासीलाई आग्रह गरे ।
पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, आमसञ्चार प्रबद्र्धन समितिका संयोजक ध्रुब अधिकारी, मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, रात्रि बजार व्यवस्थापन समितिका जयप्रकास खेतान, नुतन सरावगी, संजय अग्रवाल लगायतको सहभागिता रहेको थियो । वीरगंज टाईम्स
प्रतिक्रिया