
श्रेणी : अपराध
जनकपुर,२५ असार । व्यापारीहरूमाथि धम्की दिएर जबरजस्ती रकम असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुखसहित तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उनीहरूलाई प्रहरी गणमा राखी थप अनुसन्धान सुरु गरेको हो।
जिम्मेवारीबाट हटाइएका तीन जनामा प्रहरी निरीक्षक उत्तम सिंह भण्डारी, प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मा छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार उनीहरूमाथि व्यापारिहरूबाट मासिक रूपमा रकम उठाएको, मुद्दामा मिलापत्र गराइदिने भन्दै आर्थिक लेनदेन गरेको, र विचौलिया परिचालन गरी प्रहरी कार्यालय परिसरमै रकम संकलन गर्नेजस्ता गम्भीर आरोप छन्।
अनुसन्धानका क्रममा भण्डारीले महतो र विश्वकर्मालाई घुमुवाको रूपमा प्रयोग गरेर अनैतिक कार्यमा संलग्न गराएको पनि खुलेको छ। दुवै जवान लामो समयदेखि गौशालामा कार्यरत थिए। अझ गम्भीर कुरा, सादा पोसाकमा कार्यरत घुमुवा प्रहरीले उनीहरूलाई संरक्षण गर्दै आएको प्रमाणहरू फेला परेका छन्।
महोत्तरीमा पाँच वर्षभन्दा बढी समयदेखि सादा पोसाकमा कार्यरत केही प्रहरीहरूलाई सरुवा आदेश दिइए पनि उनीहरू अन्यत्र जान आनाकानी गर्दै आएका छन्। लामो समय एउटै स्थानमा बस्नेले स्थानीय प्रभाव बढाएर पदको दुरुपयोग गर्ने प्रवृत्तिले प्रहरी प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ।


प्रतिक्रिया