
श्रेणी : BANNER
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् ।
माओवादी केन्द्र चितवनले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताएका हुन् ।
“निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन”,उनले भने, “घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।” देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै प्रचण्डले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताए ।
चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उनले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
“चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ ।” चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए । आफूले यो राष्ट्रका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो ।

प्रतिक्रिया