वीरगन्ज,२१ फाल्गुन । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइका लागि सबै प्रदेश सरकार तयार भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बसेको बैठकले वैशाख १ देखि साउन १ सम्म सबै प्रदेशले सवारी चालक अनुमति पत्र छपाइ गर्ने निर्णय गरेको हो।
बैठकमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवहरूको सहभागिता रहेको थियो। यातायात व्यवस्था विभागले हालसम्म छाप्न बाँकी अनुमतिपत्र छाप्नेछ भने आगामी दिनमा प्रदेश सरकार आफैंले छपाइको जिम्मा लिनेछन्।
प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रको डिजाइन एकरूप बनाउन यातायात व्यवस्था विभागले ढाँचा तयार पारेको छ। साथै, बैठकले यातायात क्षेत्रमा विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ। आगामी चैत मसान्तसम्म सबै प्रदेशमा विद्युतीय भुक्तानी प्रणाली सुरु हुनेछ।
सुरुआती चरणमा विद्युतीय सवारी चालक अनुमति पत्र (ईडीएल) मा यो प्रणाली लागू हुनेछ, जसलाई क्रमशः अन्य भुक्तानी प्रणालीमा पनि विस्तार गरिनेछ।
बैठकले राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने निर्णय गरेको छ। साथै, इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई पनि तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकमा अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गर्दै पछिल्ला निर्णयहरू कार्यान्वयनको नियमित अनुगमन गर्ने सहमति भएको छ।
प्रतिक्रिया