बीरगन्ज,१९ चैत । बीरगन्ज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि संयोजकमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भइसकेको समितिमा थप ११ सदस्य मनोनयन भएसँगै समिति औपचारिक रूपमा पूर्ण बनेको हो।
शुक्रबार आयोजित कार्यक्रममा महानगर प्रमुखराजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र प्रदान गर्दै समितिको गठनले सूचना प्रणालीलाई अझ व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले सञ्चार क्षेत्रलाई लोकतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रूपमा व्याख्या गर्दै सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
समितिमा मनोनित सदस्यहरूमा क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार (गुप्ता), विरेन्द्र कुमार साह, निरबहादुर पिठाकोटे, ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम र मनोज कुमार पटेल रहेका छन्।
समितिको प्रमुख जिम्मेवारी महानगर र सञ्चारमाध्यमबीच समन्वय मजबुत बनाउनु, सूचना प्रवाहलाई पारदर्शी र समयमै जनतासम्म पुर्याउनु तथा सञ्चार क्षेत्रसँग सम्बन्धित नीतिगत सुझाव प्रदान गर्नु रहनेछ।
समितिको पूर्णतासँगै बीरगन्ज महानगरपालिकाले सूचना प्रणालीलाई अझ प्रभावकारी, जवाफदेही र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया