वीरगन्ज,२४ चैत । वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न स्थानमा जथाभावी सञ्चालन भइरहेका अनाधिकृत बजार तथा पसलहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै नयाँ बसपार्क नजिकको खाली जग्गा, पावरहाउस क्षेत्र, मुर्ली चोक, बुखार चोक, इदगाह चोक तथा गीता मन्दिर आसपासमा सञ्चालन भइरहेका तरकारी, फलफूल लगायतका अस्थायी बजार हटाउन स्पष्ट निर्देशन दिएको हो।
सूचनामा तोकिएको स्थानबाहेक अन्यत्र बजार सञ्चालन नगर्न आग्रह गर्दै अटेर गरे प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। महानगरका अनुसार बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन माइस्थान नजिक मिना बजार कम्प्लेक्स तथा छपकैया (रेल्वे रोड) क्षेत्रमा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइसकिएको छ। घण्टाघर क्षेत्रको अव्यवस्थित बजारलाई पनि सोही स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो।
तर, केही व्यवसायीहरूले महानगरको निर्देशन अटेर गर्दै सडक तथा सार्वजनिक स्थानमा नै बजार सञ्चालन गरिरहेको पाइएको छ। यसैबीच, मधेस प्रदेश सरकारको परिपत्रअनुसार पनि बजार तोकिएको स्थानमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ।
महानगरपालिकाले सबै व्यवसायीलाई तत्काल अनधिकृत स्थानबाट हटेर तोकिएको क्षेत्रमा सर्न अनुरोध गर्दै नियम उल्लंघन गरे कडा कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया