२०८२ जेष्ठ १६, बिहिबार

वीरगन्ज :
१६:००:१३

वीरगन्ज भन्सार नाकाबाट ७ महिनामा ४० अर्ब रुपैयाँभन्दा बढीको नेपाली उत्पादन निर्यात

श्रेणी : अर्थ

3 months
Pradeep Sah
2.3kViews
1724 Shares

वीरगन्ज,०८ फाल्गुन । वीरगन्ज भन्सार नाका हुदैं चालु आर्थिक बर्षको पहिलो ७ महिनाको अवधिमा ४० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको नेपाली उत्पादनका सामान विदेश निर्यात भएको छ । वीरगन्जस्थित आइसिपी भन्सार नाका हुदैं चालु आर्थिक बर्ष २०८१÷०८२ को साउन देखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा ४० अर्ब ३४ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको हो ।

गत वर्षको सोही समय अवधिको तुलनामा यस आर्थिक वर्षको ७ महिनामा नेपाली सामानको निर्यात १४० प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिए । गत आर्थिक बर्ष २०८०÷०८१ को साउन देखि माघसम्म ७ महिनाको अवधिमा वीरगन्ज भन्सार नाका हुदैं भारत तथा तेस्रो मुलुकमा १६ अर्ब ७६ करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा नेपालमा उत्पादित तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात हुदैं आएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।

चालु आर्थिकको पहिलो ७ महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको हो। ७ महिनामा वीरगन्ज भन्सार नाका हुदैं १९ अर्ब ३६ करोड ६५ लाख ७७ हजार रुपैयाँ मूल्यको भटमासको प्रशोधित तेल निर्यात भएको लामिछानेले बताए। त्यस्तै उक्त अवधिमा ३ अर्ब ९६ करोड ५३ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

त्यहि अवधिमा ४ अर्ब ६३ करोड २१ लाख ५५ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल, ३ अर्ब १२ करोड ६३ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

७ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं १ अर्ब ६० करोड ५४ लाख १५ हजार मूल्यको सेन्थेटिक यार्न, १ अर्ब ४७ करोड ४३ लाख ५७ हजार मूल्य बराबरको कपडा, १ अर्ब २२ करोड ५९ लाख ३६ हजार मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ, ७५ करोड ४६ लाख ८३ हजार मूल्य बराबरको सवारी साधन,मेसिनरी तथा पाटपुर्जा,६५ करोड ३४ लाख १२ हजार मूल्य बराबरको आयुर्वेदिक औषधि र ५५ करोड ३८ लाख ३३ हजार मूल्य बराबरको कुकुर तथा बिरालाको खाना भारत तथा तेस्रो मुलुकमा निर्यात भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *