श्रेणी : अर्थ
वीरगन्ज, १३ माघ । वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु. २९ अर्ब २७ करोड ८२ लाखको सामान विदेशी मुलुकमा निर्यात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत अर्थात् रु. १४ अर्ब ७१ करोडको वृद्धि हो।
भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार, विशेषगरी प्रशोधित भटमास र सूर्यमुखी तेलको निर्यात बढेकाले समग्र निर्यातमा उछाल आएको हो। उनका अनुसार कपडाजन्य सामग्रीको निर्यातमा पनि वृद्धि भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा रु. १४ अर्ब ५६ करोड ७१ लाखको सामान निर्यात भएको थियो। चालु आवको पहिलो छ महिनामा निर्यातबाट रु. १७ करोड ६६ लाख ६३ हजार राजस्व संकलन भएको छ, जुन गत वर्षको रु. १० करोड तीन लाख ८१ हजारको तुलनामा उल्लेख्य वृद्धि हो।
यता, चालु आवको सोही अवधिमा वीरगन्ज नाका हुँदै रु. दुई खर्ब ७७ अर्ब १५ करोडको वस्तु आयात भएको छ। गत वर्ष यो रकम रु. दुई खर्ब ६० अर्ब ३६ करोड थियो। यसरी आयातमा पनि ६.४५ प्रतिशतले वृद्धि भएको छ।
वीरगन्ज नाका हुँदै प्रमुख रूपमा भटमास र सूर्यमुखी तेल, सेन्थेटिक यार्न, पशु आहाराका कच्चा पदार्थ, कपडा, र सिन्थेटिक कपडा निर्यात भएका छन्।
प्रतिक्रिया