सङ्घले बारम्बारको लोडसेडिङका कारण डिजेल जेनरेटर प्रयोग गरी उद्योग सञ्चालन गर्नु परिरहेको बताएको छ । यसले उत्पादन लागत अत्यधिक बढाएको र उद्योगहरूलाई थप घाटा पुर्याएको सङ्घको दाबी छ । साना उद्योगहरूले डिजेल जेनरेटर सञ्चालन गर्न नसक्ने अवस्था रहेको र उनीहरूलाई उद्योग नै बन्द गर्नुपर्ने बाध्यता परेको सङ्घले जनाएको छ ।
विद्युत् कटौतीको समस्या हरेक वर्ष हिउँदमा आउने गरेको उल्लेख गर्दै सङ्घले यस समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र प्राधिकरणको ध्यानाकर्षण गराएको छ । “लोडसेडिङको निश्चित समय निर्धारण गरेर बाँकी समयमा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने हाम्रो माग छ,” सङ्घले भनेको छ ।
उद्योगहरूले उपभोग गरेको विद्युत् महसुल नियमित रूपमा तिर्दै आए पनि सोहीअनुसार गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको भन्दै सङ्घले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेको छ । सङ्घले विद्युत् आपूर्ति व्यवस्थित गर्न वैकल्पिक व्यवस्था तुरुन्त लागू गर्न माग गरेको छ ।
सङ्घले औद्योगिक उत्पादनमा नराम्रो असर परिरहेको वर्तमान अवस्था दीर्घकालसम्म कायम रहेमा उद्योगहरू थप आर्थिक मर्कामा पर्ने र समग्र औद्योगिक विकासमा नकारात्मक प्रभाव पर्ने चेतावनी दिएको छ ।
सरकार र प्राधिकरणले उद्योग क्षेत्रका समस्या बुझेर तत्काल कदम चाल्नुपर्ने सङ्घको जोडदार माग रहेको छ । विज्ञप्तिमा समस्या समाधानका लागि ठोस रणनीति तयार गर्न आग्रह गर्दै औद्योगिक क्षेत्रमा स्थायित्व सुनिश्चित गर्न आवश्यक कार्य योजना अघि सार्न भनिएको छ ।
प्रतिक्रिया