वीरगन्ज :

वीरगन्ज नर्सिङ क्याम्पस स्ववियू निर्वाचनमा अध्यक्ष पदमा आचार्यको उम्मेदवारी

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.3kViews
1049 Shares

वीरगन्ज,१८ फाल्गुन । वीरगन्जस्थित वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट कविता आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार र क्याम्पसमा आधारभूत सुविधाहरूको सुनिश्चितताका लागि आफूले उम्मेदवारी दिएको आचार्यले बताएकी छन् ।

आचार्यले आफ्नो उम्मेदवारी घोषणासँगै भनेकी छन्, “सम्पूर्णमा नमस्कार ! म कविता आचार्य, वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियू अध्यक्ष पदमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) बाट उम्मेदवारी दिने घोषणा गर्दछु । विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार, तथा सुविधाहरूको सुनिश्चितता मेरा प्रमुख एजेन्डाहरू हुन् । हामीले सामना गरिरहेका विभिन्न समस्याहरूको समाधानका लागि दृढ सङ्कल्पका साथ अगाडि बढ्ने प्रतिबद्धता लिएको छु । अबको नेतृत्व विद्यार्थीहरूकै हुनेछ र अबको सङ्घर्ष विद्यार्थीहरूकै अधिकारका लागि हुनेछ ।”

उनले विगतमा वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियू निर्वाचन जितेका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जस्ता सङ्गठनहरूले विद्यार्थीहरूको हकहितका लागि कुनै ठोस काम गर्न नसकेको आरोप पनि लगाएकी छन् ।

“यसअघिका नेतृत्वले विद्यार्थीहरूको हितमा काम गर्न सकेनन् । क्याम्पसमा आधारभूत सुविधाहरूको अभाव छ, शैक्षिक गुणस्तर खस्किँदो छ, र विद्यार्थीहरूका गुनासाहरू सुनुवाइ भएका छैनन् । यही कारण मैले यो जिम्मेवारी लिने निर्णय गरेकी हुँ,” आचार्यले भनिन् ।

आचार्यले स्ववियू निर्वाचन जितेपछि आफ्ना मुख्य एजेन्डाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएकी छन् । उनले क्याम्पसमा पुस्तकालय सुधार, छात्रावास सुधार, नियमित स्वास्थ्य जाँच सुविधा, छात्रवृत्तिको व्यवस्था, र कक्षा कोठाहरूको मर्मत सम्भार र पठनपाठनको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेकी छन् ।

“विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्छ, र त्यसका लागि आवश्यक वातावरण बनाउनु मेरो पहिलो काम हुनेछ । साथै, क्याम्पस प्रशासनसँग समन्वय गरेर यहाँका समस्याहरूको दीर्घकालीन समाधान खोजिनेछ,” उनले भनिन् ।

“हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूको आवाज बुलन्द बनाउनु र क्याम्पसलाई उत्कृष्ट शैक्षिक थलो बनाउनु हो,” आचार्यले थपिन् ।

आचार्यको उम्मेदवारी घोषणापछि विद्यार्थीहरूबिच उत्साह देखिएको छ । क्याम्पसमा लामो समयदेखि उठाइएका मागहरू पूरा हुने आशा विद्यार्थीहरूले गरेका छन् । आचार्यले आफ्नो अभियानमा विद्यार्थी केन्द्रित नेतृत्व र पारदर्शी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियू निर्वाचनको मिति नजिकिँदै गर्दा आचार्यको उम्मेदवारीले चुनावी सरगर्मी बढाएको छ । अबको केही दिनमा अन्य उम्मेदवारहरूले पनि आफ्ना एजेन्डाहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *