
श्रेणी : मधेस
वीरगन्ज,१० चैत । बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा स्थानीय उपभोक्ताको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन तीनवटा उच्च क्षमताका सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका छन्।
बाराको अमलेखगञ्ज, प्रसौनी, र पर्साको वीरगन्ज क्षेत्रमा १३२ केभी क्षमताका यी सबस्टेसनहरू निर्माणाधीन छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरीक्षण गर्दै निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
कार्यकारी निर्देशक घिसिङका अनुसार यी सबस्टेसन तथा प्रसारण लाइनहरू निर्माण सम्पन्न भएपछि वीरगन्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सहज हुनेछ। सिमरा–वीरगन्ज क्षेत्रमा पहिले देखिएको भोल्टेज समस्या समाधान गर्न १३२ केभी प्रसारण लाइन प्रयोग गरिँदैछ, जसले उद्योगहरूलाई भरपर्दो विद्युत् उपलब्ध गराउनेछ।
अमलेखगञ्ज सबस्टेसन आगामी जेठ दोस्रो साता (मे २०२५) सम्म सञ्चालनमा आउने योजना छ। यहाँ १३२/६६ केभी २०० एमभिए र ६६/११ केभी २० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भइसकेका छन्।
प्रसौनी तथा वीरगन्ज सबस्टेसनलाई २.८ किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइनले जोड्ने काम तीव्र रूपमा भइरहेको छ, जुन एक महिनाभित्र सम्पन्न हुनेछ। साथै, भारतसँगको रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा जोडेर भारत–नेपालबीचको विद्युत् व्यापारलाई प्रभावकारी बनाइने छ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक क्षेत्रलाई लक्षित गरी १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माण गरिरहेको छ। वीरगन्जका उद्योगहरूले भविष्यमा १३२ केभी लाइनबाट नै विद्युत् आपूर्ति लिन सक्नेछन्।
यसैबीच, हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत निजगढ, रमौली, पोखरिया क्षेत्रमा ४०० केभीका सबस्टेसनहरू निर्माणको तयारी भैरहेको छ। सिमरास्थित विशेष आर्थिक क्षेत्र र अन्य औद्योगिक क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइन निर्माण कार्य पनि अगाडि बढाइएको छ।
यी आयोजनाहरू सम्पन्न भएपछि वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, र गुणस्तरीय बन्ने विश्वास लिइएको छ।

प्रतिक्रिया