वीरगन्ज :

वीरगन्जमा ‘हरियो, स्वच्छ र आकर्षक वीरगन्ज’ अभियानको भव्य शुभारम्भ

श्रेणी : BANNER

8 hours
Pradeep Sah
2.6kViews
1802 Shares

वीरगन्ज,१६ कात्तिक । वीरगन्ज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा ‘हरियो, स्वच्छ र आकर्षक वीरगन्ज’ अभियानको भव्य शुभारम्भ गरिएको छ।

आज बिहान वीरगन्ज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानको प्रमुख उद्देश्य वीरगन्जलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजकले बताएका छन्।

कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, वीरगन्ज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरीको टोली, नगर प्रहरी, वीरगन्ज महानगरपालिकाका प्रतिनिधिहरु, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवाला विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो। फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यसमेत सम्पन्न गरिएको छ।

कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने, ‘वीरगन्ज नेपालको प्रवेशद्वार हो। यहाँ दैनिक हजारौँ भारतीय पर्यटक र व्यापारीहरू आउँछन्। त्यसैले सहरको सौन्दर्य, सरसफाइ र हरियालीले बीरगंजको पहिचान झल्काउनुपर्छ।उनले थपे, भन्सार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापन हाम्रो प्राथमिकता हो। भारतबाट आउने पाहुनालाई आकर्षित गर्न सहरलाई सुन्दर बनाउन अत्यावश्यक छ।’

खेतानका अनुसार ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सशस्त्र प्रहरी र स्थानीय निकायसँग मिलेर ‘हरियो वीरगन्ज, स्वच्छ वीरगन्ज’ अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरेको छ। उक्त अभियानअन्तर्गत भन्सार क्षेत्र, आदर्शनगर, बाइपास रोड, परवानीपुरदेखि रक्सौलसम्मको सडक किनारामा वृक्षारोपण, फोहोर व्यवस्थापन, र सरसफाइका स्थायी उपायहरू लागू गरिनेछ।

एसपी पुरनचन्द्र भट्टले पहलको प्रशंसा गर्दै भने, ‘सशस्त्र प्रहरी बल समुदायसँग सहकार्यमा वातावरणीय संरक्षण र सहरलाई स्वच्छ राख्न सधैं तयार छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *