
श्रेणी : मधेस
वीरगन्ज,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्साले आज प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
वीरगन्जको घण्टाघरबाट आयोजित प्रभातफेरि माइस्थान, आदर्शनगरसहित बजारको परिक्रममा गरी पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका संघर्षमा योगदान पुर्याउने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरिएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गरोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारीले पछिल्लो समय मुलुकमा स्वतन्त्राको हनन भइरहेको बताए । उनका अनुसार राज्यकै निकायबाट प्रेस स्वतन्त्रताको हनन भइरहेको देखिएको छ ।
विभिन्न बहानामा पत्रकारलाई धम्की दिने कामसमेत भइरहेको उनको भनाइ छ । यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पनि पछिल्लो समय पत्रकार र सञ्चारमाध्यममा आक्रमणका घटना बढिरहेको बताए । यस्ता घटनामा संलग्नहरुलाइ राज्यले तत्काल कारबाही गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछाने, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न संघ, सङ्गठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया