वीरगन्ज,१३ फाल्गुन । शान्ति र एकताको सन्देश बोकेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वीरगन्जमा आयोजना गरेको ‘शिव सन्देश शान्ति पद यात्रा’ भव्य रूपमा सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिका – ४ बिर्तास्थित ॐ शान्ति भवनबाट सुरु भएको ‘शिव सन्देश शान्ति पद यात्रा’ सहरको मुख्य केन्द्रहरू घण्टाघर, मुर्लीलगायत विभिन्न क्षेत्रको परिक्रमा गर्दै छपकैयास्थित विश्व दर्शन भवनमा पुगेर समापन भएको थियो ।
पद यात्रा ८९औँ त्रिमूर्ति शिव जयन्तीको अवसरमा आयोजना गरिएको थियो आयोजकहरूले जनाएका छन् । भगवान् शिवको धर्तीमा अवतरण भएको ८८ वर्ष पूरा भई ८९औँ वर्षमा प्रवेश गरेको उत्सवलाई चिन्हित गरेको केन्द्रकी मुख्य सञ्चालक रबिना दिदीले बताइन ।
रबिना दिदी कै नेतृत्वमा आयोजित पद यात्रामा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल र वडा नम्बर ४ का वडाध्यक्ष जगत् साह कानुलगायतका विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए ।
केन्द्रका बिके गोकुल गुबाजुका अनुसार पद यात्राको उद्देश्य वीरगन्जसहित सम्पूर्ण राष्ट्रमा शान्ति, सद्भाव र एकता कायम गर्नु रहेको थियो । “शिव परमात्मालाई शङ्कर, पार्वती र समस्त आत्माहरूको एक मात्र पिता मानिन्छ । उनको सोही सन्देश जनजनसम्म पुर्याउन हामीले यो कार्यक्रम गरेका हौँ,” उनले भने ।
प्रतिक्रिया