वीरगन्ज,१० फाल्गुन । लायन्स क्लब वीरगन्ज क्युरेटिभको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्जस्थित हरि खेतान क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा पाँच दशकदेखि लायन्स सेवामा सक्रिय वरिष्ठ भूतपूर्व डिस्ट्रिक्ट गभर्नर डा. आरपी खेतान प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्ति अग्रवालले दुई सय विद्यार्थीहरूलाई पाठेघरको मुखको क्यान्सरबारे विस्तृत जानकारी दिँदै फलदायी प्रस्तुति दिएकी थिइन् ।
डा. अग्रवालले पाठेघरको मुखको क्यान्सरबारे समयमै सचेतना आवश्यक रहेको बताउँदै रोकथामका उपायहरूबारे प्रकाश पारेकी थिइन् । उनले हालै सरकारले दिएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप प्रभावकारी रहेकोले निर्धक्क भएर लगाउन आग्रह पनि गरिन ।
लायन्स क्लबका प्रतिनिधि डा. अभिषेक अर्यालका अनुसार आगामी सप्ताह पनि पुनः यस्तै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रममा क्याम्पस प्रमुख, प्राध्यापक, समाजसेवी, सञ्चारकर्मी तथा छात्राहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया