श्रेणी : खेलकुद
वीरगन्ज, १० पुस । सामाजिक संस्था इम्प्रुभिङ वीरगन्जले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आगामी पुस २७ गते पाँचौं एकता म्याराथन आयोजना गर्ने भएको छ। संस्थाकी अध्यक्ष पिंकी साहका अनुसार यस म्याराथनको मुख्य उद्देश्य सामाजिक सेवा र युवाहरूलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनमा योगदान पुर्याउनु हो ।
यस पटकको म्याराथनमा पाँच हजारभन्दा बढी सहभागी हुने लक्ष्य राखिएको छ। ६.५ किलोमिटर दूरीको म्याराथन शङ्कराचार्य गेटबाट सुरु भई रेलवे रोड, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु, बिर्ता, नारायणी अस्पताल हुँदै पुनः शङ्कराचार्य गेटमा समाप्त हुनेछ। प्रतियोगितामा सहभागी विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।
म्याराथनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र १४ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू सहभागी हुन पाउनेछन्। यो म्याराथनले वीरगन्जका युवाहरूलाई खेलकुदमा रुचि बढाउने मात्र होइन, सामाजिक कार्यमा योगदान दिन प्रेरित गर्ने विश्वास संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सरण गुप्ताले व्यक्त गरेका छन् ।
गुप्ताले यो म्याराथन वीरगन्जका युवालाई खेलकुद र सामाजिक सेवामा आकर्षित गर्ने माध्यम बन्ने र सामाजिक एकता र सकारात्मक परिवर्तनको सन्देश फैलाउने बताए ।
सहभागीहरूले नाम दर्ता गर्न आयोजकसँग सम्पर्क गर्न सक्नेछन्। इम्प्रुभिङ वीरगन्जले यस म्याराथनलाई सफल बनाउन सामाजिक उत्साह र सहकार्यका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ ।
प्रतिक्रिया