वीरगन्ज,१० फाल्गुन । वीरगन्जमा शनिवार रथयात्रा निकालिएको छ । ईस्कोन वीरगन्जको आयोजनामा शनिवार दोस्रो पटक श्री जगन्नाथ रथयात्रा निकालिएको हो ।
वीरगन्जको घण्टाघरबाट सुरु भएको रथयात्रा मुख्य सडकबाट माईस्थान, आदर्शनगर, महाविरस्थान, अलखिया मठबाट कैलाश होटल मार्ग हुँदै आदर्शनगरको पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जमा ईस्कोनको लागि ठूलो मन्दिरको आवश्यक्ता औँल्याए । आगामी वर्ष पनि रथयात्रालाई निरन्तरता दिएर अझै उल्लासपूर्ण ढंगले मनाउनुपर्ने उनको भनाई छ । वीरगन्ज महानगरपालिका सबैसँग हातेमालो गर्न र समन्वय गर्नका लागि सँधैभरी तयार रहेको पनि उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले रथयााले अध्यात्मिक ज्ञान हुने र मनमा शान्ती हुने धारणा राखेका थिए । मनमा आउने नकारात्मक विचारलाई त्यागेर सकारात्मक सोचको विकास गर्न पनि रथयात्राले सघाउ पुग्ने उनीहरुको भनाई थियो ।
सो अवसरमा वीरगन्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, समाजसेवी एवम्् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, र्ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदास लगायतको उपस्थिती रहेको ईस्कोन वीरगञ्जका सचिव पियुष गुप्ताले जानकारी दिए । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले गरेका थिए ।
यसअघि पहिलो पटक गत वर्ष वीरगञ्जमा जगन्नाथ रथयात्रा निकालिएको थियो ।
प्रतिक्रिया