वीरगन्ज :

वीरगञ्ज–७ मा एमालेको शक्ति विस्तार, जसपा र काँग्रेस परित्याग गर्दै सयौं नेता–कार्यकर्ता एमाले प्रवेश

श्रेणी : BANNER

10 hours
Pradeep Sah
2.9kViews
1198 Shares

वीरगञ्ज (पर्सा), ९ फागुन । वीरगञ्ज महानगरपालिका–७ मा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता तथा वडाध्यक्ष पदका प्रत्याशी दीपक महतोले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा औपचारिक प्रवेश गरेका छन्।
महतोसँगै स्थानीय राजनीतिक व्यक्तित्व शिवजी गुप्ता, महिला नेतृ सुनिता देवी, नेपाली काँग्रेससँग आबद्ध नेता सियाराम नेपालीसहित सयौं स्थानीय नेता–कार्यकर्ता विभिन्न दल परित्याग गर्दै एमालेमा समाहित भएका हुन्। उक्त प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा महत्वपूर्ण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
प्रदीप यादवद्वारा भव्य स्वागत
“वीरगञ्ज–७ मा एमाले अझ सुदृढ”
नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला र गम्छा ओढाएर स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दीपक महतो र शिवजी गुप्ता जस्ता प्रभावशाली नेताहरूको प्रवेशले वीरगञ्ज–७ मा एमालेको संगठनात्मक शक्ति उल्लेखनीय रूपमा बढेको दाबी गरे।
“यी प्रवेशले पार्टीको जरा अझ गहिरो बनाएको छ, अब यो वडा एमालेको बलियो आधार बन्नेछ,” यादवले भने।
“देश जलाउने र जोगाउनेबीचको चुनाव”
एमालेबाहेक विकल्प छैन : यादव
आगामी निर्वाचनलाई यादवले ‘देश जलाउने र देश जोगाउनेबीचको निर्णायक प्रतिस्पर्धा’ का रूपमा चित्रित गरे। उनले राष्ट्रियता, संघीयता र अखण्डताको रक्षा गर्न एमालेको विकल्प नभएको भन्दै मतदातालाई सचेत निर्णय लिन आग्रह गरे।
“देश संकटमा पर्दा चुप लाग्नेहरू धेरै भए, तर खुलेर देश र जनताको पक्षमा बोल्ने नेता एमाले अध्यक्ष केपी शर्मा ओली मात्र हुनुहुन्छ,” यादवले भने। ओली पुनः प्रधानमन्त्री बने मात्र वैदेशिक हस्तक्षेप रोक्न सकिने उनको दाबी थियो।
काँग्रेसमाथि कडा प्रहार
“नाम मात्रै नयाँ, चरित्र पुरानै”
यादवले नेपाली काँग्रेसप्रति आक्रामक टिप्पणी गर्दै पार्टीलाई “दास र लासको राजनीति गर्ने दल” को संज्ञा दिए। उनले काँग्रेसले नयाँपनको नारा लगाए पनि बारम्बार उही अनुहारलाई उम्मेदवार बनाउँदै आएको आरोप लगाए।
पर्सा–१ का काँग्रेस उम्मेदवारप्रति संकेत गर्दै यादवले भने, “व्यवसायमा व्यस्त रहने अनि चुनावको मुखमा मात्रै जनतासँग आउनेलाई अब मतदाताले प्रश्न गर्नुपर्छ—पाँच वर्ष उनीहरू कहाँ थिए?”
“काम गर्ने नेता छान्नुस्”
विकास र परोपकारका काम स्मरण
यसअघि पर्सा–१ बाट सांसद निर्वाचित भइसकेका तथा पूर्व मन्त्रीसमेत रहेका यादवले आफूले गरेको विकास निर्माण र सामाजिक सेवाका कामहरूको उल्लेख गर्दै भावनामा होइन, कामका आधारमा नेता चयन गर्न मतदातालाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *