श्रेणी : मधेस
वीरगञ्ज (पर्सा), ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातिँदै जाँदा सुशील कुमार कानु नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। यही क्रममा वीरगञ्ज महानगरपालिका–१९ अन्तर्गत बिन्दवासनी टोलमा आयोजित घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको छ।
टोल–टोलमा पुगेका उम्मेदवार कानुलाई स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक तथा समर्थकहरूले अबिर, गम्छा र फूलमालासहित आत्मीय स्वागत गरेका थिए। स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कानुले बिन्दवासनी टोलसहित पर्सा–२ का नागरिकले भोगिरहेका दैनिकीका समस्या, विकासका आवश्यकता र सम्भावनाबारे गम्भीर छलफल गरे।
कार्यक्रममा बोल्दै कानुले कृषि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई आफ्नो प्राथमिक एजेण्डा रहेको स्पष्ट पारे। जनताको जीवनस्तर सुधारसँग जोडिएका विषयमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरेर योजनाबद्ध विकास अघि बढाइने बताए।
कृषि क्षेत्रका समस्यामाथि विशेष जोड दिँदै उनले किसानले समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको उल्लेख गरे। निर्वाचित भएमा मलको नियमित आपूर्ति सुनिश्चित गर्ने र किसानमैत्री नीति लागू गरिने उनको भनाइ थियो। साथै, युवाहरूलाई लक्षित गर्दै सीपमूलक तथा रोजगारीमुखी तालिममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे। “आफ्नै गाउँ–ठाउँमा रोजगारीको अवसर सिर्जना गर्न सकियो भने वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुन्छ,” कानुले बताए।
घरदैलोका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य सेवा, सडक र खानेपानीजस्ता आधारभूत पूर्वाधारमा लामो समयदेखि अपेक्षित सुधार नआएको गुनासो राखेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्सम्म पुर्याउने र विकासका काममा देखिने परिणाम ल्याउने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा सहभागी युवाहरूले मुलुकमा अब परिवर्तन आवश्यक रहेको भन्दै रास्वपाप्रति जनआकर्षण बढ्दै गएको प्रतिक्रिया दिए। ज्येष्ठ नागरिक र महिलाहरूले पनि यसपटकको निर्वाचनमा सचेत निर्णय लिने बताउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य आधार बनाउनुपर्ने धारणा व्यक्त गरे।
बिन्दवासनी टोलमा सम्पन्न घरदैलो अभियानले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाप्रति बढ्दो जनसमर्थन र परिवर्तनप्रतिको जनअपेक्षा स्पष्ट रूपमा देखाएको छ।

प्रतिक्रिया