
वीरगञ्ज, २२ पुस । वीरगञ्जमा धार्मिक तनाव चर्किएपछि महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रशासन र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो सन्देशमा उनले तनाव उत्पन्न भएपछि मात्र सद्भाव र्याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्तिको आलोचना गरेका छन्।
मेयर सिंहले वीरगञ्ज बाहिर उत्पन्न विवादलाई सहरमा जबरजस्ती थोपरेर अशान्ति फैलाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरूमाथि प्रशासनले समयमै कानुनी कारबाही नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन्। “वीरगञ्ज किन बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बन्न बाध्य छ? सदियौँदेखि जोगिँदै आएको हाम्रो भाइचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान हुँदैनन्,” उनको भनाइ छ।
उनले शान्ति–सुरक्षा कायम गर्नु राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी भएको स्पष्ट पार्दै समाजका अगुवाहरूको भूमिका सहजिकरणमा मात्र सीमित हुने उल्लेख गरेका छन्। “सम्भावित सुरक्षा जोखिमको आङ्कलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कारबाही गर्ने संयन्त्र सरकारसँग हुँदाहुँदै पनि बाहिरबाट आयातित विषयका कारण तनाव चर्किँदा सम्बन्धित निकाय किन जिम्मेवारीबाट पन्छिन खोज्छ? आफ्नो स्वार्थका लागि पूरै सहरलाई भयभीत बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही किन हुँदैन?” उनले प्रश्न उठाएका छन्।
मेयर सिंहले वीरगञ्ज कुनै व्यक्ति, समूह वा एजेन्डाको बन्धक नभई शान्ति, सद्भाव र आपसी विश्वासको साझा सहर भएको उल्लेख गर्दै भड्काउन खोज्नेहरूमाथि निष्पक्ष र कडा कारबाही नै दीर्घकालीन समाधान भएको जोड दिएका छन्। धर्मसँग जोडिएको संवेदनशील विषय भएकाले कसैले पनि कसैको धार्मिक भावनासँग खेल्न नपाउने र भावना भड्काएर समाज बिथोल्न खोज्नेलाई छुट दिन नमिल्ने उनको स्पष्ट धारणा छ। “आउनुहोस्, आपसी सद्भाव र भाइचारा अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र ‘वैभव वीरगञ्ज’ तर्फ एकजुट भएर अघि बढौँ,” भन्दै उनले अपिलसमेत गरेका छन्।
मेयर सिंहको भनाइले वीरगञ्जको सद्भाव जोगाउन राज्यको सक्रिय र प्रभावकारी भूमिका आवश्यक रहेको सन्देश दिएको छ भने तनावको मूल कारण पहिचान गरी जरैदेखि समाधान खोज्नुपर्ने मागलाई थप बलियो बनाएको छ।
यसैबीच, धनुषामा टिकटक भिडियोसम्बन्धी विवादबाट सुरु भएको मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा उत्पन्न धार्मिक तनावका कारण कर्फ्यु जारी छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार तनावपूर्ण अवस्था कायम रहेकाले कर्फ्युको अवधि आज साँझ ६ बजेसम्म थप गरिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ भने अफवाह फैलाउने गतिविधिमाथि कडा निगरानी बढाइएको प्रशासनले जनाएको छ।
विभिन्न राजनीतिक तथा सामाजिक अगुवाहरूले शान्ति र सद्भाव कायम राख्न अपिल गरिरहेका छन्। प्रशासनले स्थिति सामान्य बनाउन प्रयास जारी राखेको बताइरहँदा, मेयर सिंहको अभिव्यक्तिले दोषीमाथि कडा कारबाहीको अभाव नै मुख्य समस्या भएको संकेत गरेको छ। वीरगञ्जवासीले दीर्घकालीन शान्तिका लागि प्रभावकारी र कठोर कदमको अपेक्षा गरेका छन्।

प्रतिक्रिया