
श्रेणी : BANNER


वीरगंज (पर्सा), ९ चैत / मधेश प्रदेशकै पहिलो र नेपालको सबैभन्दा ठूलो सूपरमार्केट भाटभटेनी सूपरमार्केट आर्थिक नगरी वीरगञ्जमा संचालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरको सपिङ सेवा प्रदान गर्ने र उपभोक्तालाई सबैथोक एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले २ अर्ब ५० करोडभन्दा बढीको लगानीमा भाटभटेनी सूपरमार्केट वीरगञ्जमा २४ औँ शाखाको रुपमा संचालनमा आएको हो ।
बारा, पर्सा रौतहटलगायत विभिन्न जिल्लाहरुका साथै छिमेकी मुलुक भारतका उपभोक्ताहरुलाई समेत लक्षित गरी ठूलो लगानीमा स्टोर संचालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले बताएका छन् ।
उनले आफू व्यापार गर्नका लागि नभई सेवाभावले शाखाहरु विस्तार गरिरहेको बताए । अध्यक्ष गुरुङले वीरगञ्जका अधिकांश उपभोक्ता किनमेलका लागि भारतको रक्सौल जाने गरेको हुँदा उनीहरुलाई लक्षित गरी बजार भन्दा सस्तो मूल्यमा समानहरु उपलब्ध गराइएको बताए ।


२०४१ सालमा ३५ हजारको लगानीमा किराना पसल संचालन गरेको स्मरण गर्दै उनले आज भाटभटेनी सूपरमार्केटको २४ औँ शाखाको शुभराम्भ गर्न पाउँदा खुसी लागेको बताए । उनले विदेश गएर कमाउनु भन्दा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास आफूभित्र रहको कारण ठूलो सफलता हाजिल भएको बताए ।
क्षेत्रफलको हिसाबले नेपालका अन्य २३ औँ शाखा मध्ये वीरगञ्ज शाखा सबैभन्दा ठूलो रहेको व्यवस्थापन पक्षले दाबी गरेको छ । वीरगञ्ज शाखामा २ सय ५० स्थानीयले रोजगारी पाएका छन् । उनीहरुका अनुसार देशभरीका शाखाहरुमा ६ हजार भन्दा बढीले रोजगारी पाएको र सबैभन्दा धेरै महिला कर्मचारीहरु कार्यरत छन् ।
स्टोरमा खाद्यान्न, भाँडाकुँडा, खेलौना, लत्ताकपडा, जुत्ता, टिभी, फ्रीज, वाशिङ मेशिनलगायत दैनिक उपभोग्य सबै सामान रहेको छ । सााथै फूडकोर्टसहितको पूर्ण वातानुकूलित एवं आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रिय ब्रान्डेड सामानहरू पनि उपलब्ध छ ।
मुलुकका प्रमुख शहरहरुमा संचालनमा आएको भाटभटेनी सूपरमार्केट वीरगञ्ज पछि आगामी २०८० सालभित्रमा मधेश प्रदेशको राजधानी जनकपुर, विर्तामोड र दमकमा यसको शाखा विस्तार गर्ने तयारी छ । वीरगंज टाईम्स

प्रतिक्रिया