
श्रेणी : मधेस
वीरगञ्ज । नेपालको यातायात क्षेत्रमा नयाँ आयाम थप्दै, साह यात्री प्रा.लि.ले अत्याधुनिक सुविधा सम्पन्न रात्री बस सेवा सुरु गरेको छ । यो सेवा वीरगञ्जदेखि, काठमाडौं, बनेपा र धुलिखेलबीच सञ्चालनमा ल्याइएको हो ।
१२ मिटर लम्बाइको टाटा मोटर्सको बसमा ४५ देखि ५० यात्रु बस्न सक्ने क्षमता छ । आरामदायक २×१ लेआउटमा जम्मा २७ सिट रहेको यस बसले यात्रुहरूलाई प्रिमियम स्तरको सुविधा प्रदान गर्ने सञ्चालक जगरनाथ साहले दाबी गरे । उनका अनुसार, प्रत्येक सिट निर्माणका लागि ४५ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ। बसमा सिटहरू पर्याप्त खुट्टा फैलाउन मिल्ने स्थान र व्यक्तिगत चार्जिङ पोइन्टजस्ता सुविधाले सुसज्जित छन्।
यस बस सेवा पूर्णतया नन–स्टप हुने भएकाले यात्रुहरूको समय बचतमा सहयोग पुग्ने साहको भनाइ छ। स्थानीय यात्रुहरूलाई चढ्न नदिने प्रबन्ध गरिएको यो सेवाले थप आरामदायक र सुरक्षित यात्रा सुनिश्चित गरेको छ। वीरगञ्जदेखि काठमाडौंसम्मको भाडा जम्मा १५ सय रुपैयाँ तोकिएको छ। साह यात्री प्रा.लि.ले सुरु गरेको रात्री बस सेवा वीरगञ्जदेखि काठमाडौं, काठमाडौंदेखि बनेपा र बनेपादेखि धुलिखेलसम्म सञ्चालन भइरहेको छ।
साह यात्री प्रा.लि.का प्रबन्ध निर्देशक जगरनाथ साह लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय व्यक्ति हुन् । करिब चार दशक लामो समयको अनुभवको आधारमा उनले यात्रुलाई मध्यनजर गर्दै आरामदायक सवारी सञ्चालन गरेका हुन् । ‘लामो समयदेखि यही क्षेत्रमा लागिरहँदा यात्रुहरुबाट आरामले यात्रा गर्न नपाएको गुनासो सुनिन्थ्यो, त्यही गुनासो सुन्न नपर्ने गरी आरामदायक यात्रा गर्न यो अवधारण ल्याएको हुँ’, उनले यात्रा डेलीसँग भने ।
यात्रा सम्बन्धी थप जानकारी र टिकट बुकिङका लागि वीरगञ्ज बसपार्क, काठमाडौंको सुन्धारा तथा बनेपा र धुलिखेलका सम्पर्क केन्द्रहरूमा बुझ्न सकिन्छ ।


प्रतिक्रिया