वीरगन्ज :

वीरगञ्जको खानेपानी संकट समाधानको श्रेय दाबी गर्दै प्रदीप यादव, ‘२४ घण्टामै डीप बोरिङ सुरु गराएँ’

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.5kViews
1859 Shares

वीरगञ्ज, २७ माघ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार तथा पूर्व खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गर्दै मतदातामाझ विकास र सेवा अनुभवलाई मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्।

वीरगञ्ज महानगरपालिका–३२ टेढा राम वनमा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले वीरगञ्जमा एक समय देखिएको गम्भीर खानेपानी संकट समाधानमा आफूले प्रत्यक्ष नेतृत्व गरेको दाबी गरे। उनले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालिरहेको बेला वीरगञ्जमा पानीको चरम अभाव भएको जानकारी पाएलगत्तै तत्काल स्थलमै पुगेर समाधानको पहल गरेको स्मरण गरे।

उनका अनुसार वीरगञ्ज पुगेको २४ घण्टाभित्रै विभिन्न टोल र बस्तीमा डीप बोरिङ जडान गर्ने काम सुरु गरिएको थियो, जसका कारण छोटो समयमै घरघरमा खानेपानी सेवा पुर्‍याउन सम्भव भएको उनले बताए। यादवले त्यसलाई जनताको आधारभूत आवश्यकताको सम्बोधनका रूपमा उल्लेख गर्दै आफू जनताको समस्या समाधानमा सधैं अग्रसर रहेको दाबी गरे।

पूर्व मन्त्री यादवले वीरगञ्जको दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि आफ्नो पहलमा ठूलो बजेट सुनिश्चित गरिएको जानकारी पनि दिए। उनले खानेपानी मन्त्रालयमार्फत करिब ४ सय ५० करोड रुपैयाँ बजेट वीरगञ्ज महानगरपालिकामा विनियोजन गरिएको र सोही बजेटबाट खानेपानी आयोजना निर्माण प्रक्रिया अघि बढिसकेको बताए। उनले उक्त आयोजना निर्धारित समयभित्र सम्पन्न भएपछि वीरगञ्जमा स्थायी रूपमा खानेपानी समस्या अन्त्य हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा उनले कोरोना महामारीको कठिन समयमा आफूले व्यक्तिगत जोखिम मोलेर जनताको जीवन रक्षा र राहत व्यवस्थापनमा सक्रिय भूमिका खेलेको स्मरण गराउँदै जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताए।

राजनीतिक सन्दर्भमा बोल्दै यादवले आफ्नो उम्मेदवारीलाई केवल निर्वाचन प्रतिस्पर्धा नभई संविधान र प्राप्त अधिकारको संरक्षणसँग जोडेर प्रस्तुत गरे। उनले वर्तमान संविधानले मधेस क्षेत्रसहित महिला, दलित, थारु तथा सीमान्तकृत समुदायलाई दिएको अधिकार जोगाउन स्थिर राजनीतिक नेतृत्व आवश्यक रहेको बताए। एमालेले विजय हासिल गर्न नसके प्राप्त अधिकार कमजोर हुने जोखिम रहेको उल्लेख गर्दै उनले मतदातासँग समर्थनको अपिल गरे।

यादवले अझै सम्बोधन हुन बाँकी रहेका मधेसका मुद्दालाई समाधान गर्न संविधान संशोधन आवश्यक रहेको धारणा व्यक्त गर्दै त्यसका लागि बलियो जनादेश आवश्यक रहेको बताए। उनले आफूलाई विजयी बनाए मधेसका अधिकार संस्थागत र सुरक्षित बनाउने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी एमाले प्रवेश गर्ने कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको थियो। एमालेले यसलाई चुनावी माहोल थप सुदृढ बनाउने संकेतका रूपमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *