श्रेणी : BANNER
वीरगञ्ज (पर्सा), १६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले पार्टीको नेतृत्वमा सरकार बने पर्सा जिल्लाको समग्र रूपान्तरण गर्ने गरी ठूला र दूरगामी विकास योजनाहरू कार्यान्वयन गरिने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ अन्तर्गत बसडिलवा तथा बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा आयोजित घरदैलो तथा जनसंवाद कार्यक्रममा कानुले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताको अन्त्यका लागि रास्वपाको घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
घरदैलोका क्रममा उनले विगत चार दशकदेखि दोहोरिँदै आएको अस्थिर राजनीतिक संरचना तोडेर विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए। “देशलाई स्थिर सरकार, पारदर्शी शासन र जनमुखी नीति चाहिएको छ,” कानुले भने, “त्यसको विकल्प रास्वपा हो।”
उनले पर्सा जिल्लाको भौगोलिक, आर्थिक तथा कूटनीतिक महत्त्व उल्लेख गर्दै वीरगञ्ज देशकै प्रमुख आर्थिक केन्द्र भए पनि विगतका निर्वाचित प्रतिनिधिहरूको बेवास्ताका कारण अपेक्षित विकास हुन नसकेको आरोप लगाए। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र पूर्वाधारको अवस्था दयनीय बन्दै गएको उल्लेख गर्दै उनले अघिल्ला सांसद तथा मन्त्रीहरू जनहितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरे।
निर्वाचित भएमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर पर्साको कायापलट गर्ने योजनासहित काम अघि बढाइने कानुको भनाइ थियो। “स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकासको मोडल लागू गरिनेछ,” उनले स्पष्ट पारे।
कृषि क्षेत्रका समस्या औँल्याउँदै उनले किसानलाई समयमै मल, बीउ र प्रविधि उपलब्ध गराउने व्यवस्था मिलाइने तथा युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गरिने बताए। “गाउँमै रोजगारी सिर्जना भए युवालाई बाध्य भएर विदेश जानु पर्दैन,” उनले भने।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले वर्षौंदेखि शिक्षा, स्वास्थ्य सेवा, सडक र खानेपानीमा सुधार नआएको गुनासो व्यक्त गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसदसम्म पुर्याउने र कागजमा होइन, व्यवहारमा देखिने विकास गरेर विश्वास जित्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा सहभागी युवाहरूले मुलुकमा वास्तविक परिवर्तनको समय आएको बताउँदै रास्वपाप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका थिए। त्यस्तै, महिलाहरू र ज्येष्ठ नागरिकहरूले पनि यसपटक सचेत मतदान गरेर सुशासन, जवाफदेहिता र इमानदार नेतृत्व रोज्ने बताएका थिए।

प्रतिक्रिया