श्रेणी : BANNER
वीरगंज, २ फागुन । वीरगंज महानगरपालिका वडा नं. ३० मा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा मनोज साह कानु नेतृत्वको समूहसहित करिब १०० जना नेता–कार्यकर्ताले जनता समाजवादी पार्टी नेपाल परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोजेका छन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई एमाले पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव सहित पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले फुलमाला र अविरले स्वागत गरेका थिए।
पार्टी परिवर्तनको निर्णयबारे बोल्दै नवप्रवेशीहरूले पर्साको समग्र विकासका लागि प्रभावकारी नेतृत्वको आवश्यकता महसुस भएको उल्लेख गरे। उनीहरूले विकास, पूर्वाधार र जनसेवामा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा एमाले संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने बताएका छन्।
स्थानीय नेताहरूका अनुसार मनोज साह कानुजस्तो प्रभावशाली व्यक्तित्वको आगमनले वडा नं. ३० मा एमालेको संगठनात्मक आधार थप बलियो बनेको छ। यसलाई आगामी निर्वाचनको तयारीका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य उर्मिला देवकोटा, विजय सरावगी, पर्सा जिल्ला सचिव महेश दास, मानदेव हजरा, सुन्दर कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै उम्मेदवार प्रदीप यादवले आफू सधैं जनताको समस्यामा साथ दिँदै आएको दाबी गरे। उनले विकास र समृद्धिका योजनालाई निरन्तरता दिन जनताको समर्थन आवश्यक रहेको उल्लेख गर्दै चुनावी समयमा मात्र देखिने राजनीतिक संस्कार अन्त्य गर्नुपर्ने बताए। साथै उनले मतदातालाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे

प्रतिक्रिया