श्रेणी : BANNER
वीरगंज (पर्सा), १४ असोज । बाल सुधार गृह वीरगंजबाट फरार दुई जना बालकैदीहरु पक्राउ परेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४ बिर्तास्थित रहेकाे बाल सुधार गृहबाट फरार दुबै जनालाई प्रहरीले ४८ घण्टामा नियन्त्रणमा लिन सफल भएकाे हाे । बाल सुधार गृहका फरार दुईजना बालकैदीहरु पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।
उनले फरार मध्ये एक जना शनिबार राति सर्लाहीकाे भारतिय सिमाबाट र एक जना सिराहाकाे भारतिय सिमाबाट आइतबार विहान पक्राउ परेकाे वताए । दुबै जनालाई जिल्ला ल्याउने कार्य भइरहेकाे डिएसपी थापाले वताए । गएको शुक्रबार बिहान २ बजेको समयमा दुबै जना सुधार गृहकाे छतमाथिकाे काँडेतार काटेर फरार भएका थिए । फरार भएका कैदीहरू मधेश प्रदेशको सर्लाही र सिराहा जिल्लाका थिए । दुबै जना मध्ये एक जना कर्तव्य ज्यान मुद्दा र एक जना जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा राखिएकाे थियाे ।
प्रहरीका अनुसार सुधार गृहका दुईजना फरार भएका कैदी वीरगंजकाे रेल्बे राेड हुँदै शंकराचार्य गेट तर्फ गएकाे सिसि टिभि क्यामेरामा देखिएका थिए । उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर वीरगंज भन्सार तर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएका थिए । फरार कैदीहरु भारत तर्फ गएकाे शंकाकाे आधारमा प्रहरीले रक्साेलमा पुगेर रेल्वे स्टेसनको क्यामेरा पनि चेकजाँच गरेको भए पनि उनीहरू देखिएका थिएनन् ।
भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच झडप भएको थियो । झडपमा दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना बालकैदीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ । झडप हुनु भन्दा पहिला सुधार गृहमा प्रहरी सहायक निरिक्षक (असई)को नेतृत्वमा सादा पोशाकका सात जना प्रहरीहरू खटाइएको थियो भने हाल नौ जना प्रहरीलाई खटाइएको छ ।
हाल ६० जना बस्ने क्षमता रहेको बाल सुधार गृहमा १ सय २६ जनालाई राखिएको छ । १०/११ को सांघुरो एउटा कोठामा १४/१५ जना बालबालिकाहरू बस्नु पर्ने बाध्यता रहेको छ । एउटा कोठामा खाटमाथि खाट राखेर बालकैदीबन्दीहरूलाई बस्न लगाइएको छ । वीरगन्ज टाइम्स
प्रतिक्रिया