वीरगन्ज :

वीरगंज महानगरमा सम्पदा संरक्षण समिति गठन,सबै धार्मिक स्थल अनिवार्य सूचिकृत हुने

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.6kViews
1939 Shares

बीरगन्ज,०५ भदाै । बीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद, चैत्य–गुम्बासहितका सबै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको दीगो संरक्षणका लागि विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ।

महानगरले ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदाहरू व्यवस्थित तरिकाले संरक्षण गर्न सम्बन्धित ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। अब महानगरका ३२ वडामा रहेका सम्पूर्ण मठ–मन्दिर, मस्जिद र चैत्य–गुम्बाको अभिलेख संकलन गरी अनिवार्य सूचिकृत गरिने तयारी गरिएको छ। तथ्यांक संकलन प्रत्येक वडा कार्यालयमार्फत शुरू गरिनेछ।

समितिको संयोजकको जिम्मेवारी महानगर प्रमुख राजेशमान सिंहले लिएका छन्। समितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगत साह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्य रहेका छन् भने शाखा अधिकृत सुशीला देवकोटा सदस्य–सचिवको जिम्मेवारीमा नियुक्त छिन्। समितिका सदस्यहरूलाई औपचारिक कार्यक्रममा पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदान गरिएको छ।

महानगर प्रमुख सिंहले भने, “धार्मिक सम्पदाहरूलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिनेछ। भक्तजनले दिएको दान–चन्दा केवल ती सम्पदाको संरक्षण तथा संवर्द्धनमै खर्च हुने वातावरण सुनिश्चित गरिनेछ।”

समितिले प्रत्येक वडामा सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र त्यसका आधारमा दीर्घकालीन संरक्षण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट वीरगंजका धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको दीर्घकालीन संरक्षण हुने र शहरको पहिचान सुरक्षित रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *