वीरगन्ज :

वीरगंज भन्सारको राजस्व संकलन उत्साहजनक, पाँच महिनामै ९६ अर्ब ३८ करोड उठ्यो

श्रेणी : अर्थ

2 months
Pradeep Sah
1.7kViews
1477 Shares

वीरगंज (पर्सा), २ पुस । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ अर्थात् करिब १४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगंज भन्सार कार्यालयले ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसको तुलनामा चालु आवमा राजस्व वृद्धि हुनु व्यापार गतिविधि र भन्सार प्रशासनको कार्यसम्पादन सुदृढ बन्दै गएको संकेतका रूपमा लिइएको छ ।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षको पाँच महिनाको राजस्व संकलन सन्तोषजनक र उत्साहजनक रहेको बताएका छन् । उनका अनुसार, कार्यालयले मंसिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

प्रमुख भन्सार प्रशासक ज्ञवालीका अनुसार, चालु आर्थिक वर्षको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मंसिर महिनामै संकलन भएको हो । मासिक विवरण अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ र असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी, कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको छ भने मंसिर महिनामा २० अर्ब ८० करोड रुपैयाँ संकलन भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरिमा कुल दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

हालसम्मको पाँच महिनाको अवधिमा कार्यालयले वार्षिक लक्ष्यको उल्लेखनीय हिस्सा संकलन गरिसकेको जनाएको छ । राजस्व संकलनमा देखिएको यो सकारात्मक प्रगतिले आगामी महिनाहरूमा पनि लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *