वीरगंज (पर्सा), ५ साउन । फोहर फालेको विषयलाई लिएर वीरगंज महानगरपालिकाका नगर प्रहरीले व्यापारीमाथि हातपात गरेका छन् । पावरहाउस चोक स्थित प्राइम अटो ट्रेडर्सको संचालकमाथि फोहोर फालेको विषयलाई लिएर महानगर प्रहरीले हातपात गरेका हुन् ।
प्राइम अटो ट्रेडर्सको मालिक सन्दिप साहले नगरप्रहरीले आफूहरुमाथि ज्यादतीसँगै हातपात गरेको बताएका छन् । कार्यालयबाट निस्केको सानोतिनो फोहरहरु महानगरपालिकाको ट्याक्टरमा फ्यालनका लागि आफ्नै कार्यालय अगाडि राखेको र सोही विषयलाई लिएर निहुँ खोजी नगर प्रहरीले बिना कारण आफूलाई हातपात गरेको संचालक साहको भनाई छ ।
उनका अनुसार केही संख्यामा रहेका नगर प्रहरीहरुले आफ्नो कार्यालयमा प्रवेश गरि गुण्डागर्दी शैलीमा पसेर कार्यालय बाहिर किन फोहोर फ्याकेको भन्दै जबरजस्ती ५ हजार रुपैयाँको चिट काट्न लगाएको बताए । त्यस्तै उनले कुन नीति नियम प्रवधानको आधारमा शुरुमै महानगरपालिका ५ हजार रुपैयाँको चिट काटेको कुरा सोधेपछि नगरप्रहरीका सर्फुदिन मियाँले आफुलाई हातपात गर्दै दुव्र्यवहार गरि अपहरण शैलीमा महानगरपालिकाको कार्यलय लगेको बताए ।
केही दिनयतादेखि वीरगंज बजारमा महानगरप्रहरीको आतँक नै बढेको छ । नगर प्रहरी ड्युटी भन्दा पनि अवैध रकम असुल्ने तर्फ केन्द्रित भएपछि जताततै विवाद हुने गरेको छ । उनीहरुलाई अवैध रुपमा रकम दिए सजिलै तरिकाले बिना शुल्क फोहोर संकलन गरेर लैजाने, जसले अवैध तरिकाले पैसा नदिए विभिन्न बहाना बनाएर चिट काट्ने, थर्काउने, तर्साउने जस्ता कार्यहरु गरि रहेको वीरगंजका व्यापारीहरुको आरोप छ ।
प्राइम अटो टे्रडर्सले पनि अवैध रकम नदिएकै कारण विभिन्न बहानामा महानगर प्रहरीले हातपात गरेको पुष्टि हुन्छ । भर्खरै दुई दिन अगाडि नगर प्रहरीले मिना बजारमा अवैध असुलीको आतँक नै मच्चाएको समाचारहरु विभिन्न सञ्चार माध्यमममा प्रकाशित भएको थियो । नगर प्रहरीको कार्यशैलीबारे पटक पटक समाचारहरु प्रकाशन हुँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन, कि जानी जानी उनीहरुलाई अवैध असुली गर्न छुट दिइएको हो ? खोजविनको विषय बनेको छ ।
महानगरभित्र रहेको पसलहरुमा मापदण्ड अनुसार शुल्क तोकेर राजस्व संकलन गर्नुभन्दा पनि नगर प्रहरी आफ्नो दुनो सोझ्याउन अवैध असुलीमा तल्लिन भएको देखिन्छ ।
प्रतिक्रिया