वीरगंज, १८ फागुन – वीरगंज ई-रिक्सा शहरको रूपमा विकसित हुँदै गएको छ। हचुवाको भरमा सञ्चालन अनुमति, अव्यवस्थित पार्किङ्ग र छाडा रूपमा चल्ने ई-रिक्साका कारण वीरगंज महानगर ई-रिक्सा शहरमा परिणत हुँदैछ।
वीरगंजमा कति ई-रिक्सा सञ्चालनमा छन् भन्ने आधिकारिक तथ्यांक न यातायात व्यवस्था कार्यालय वीरगंजसँग छ, न त वीरगंज महानगरपालिकासँग। तर, दुवै निकायले मनलाग्दी रूपमा सञ्चालन अनुमति दिएको पाइन्छ। एक ई-रिक्सा चालकका अनुसार हालसम्म अनुमतिप्राप्त संख्याको दोब्बर ई-रिक्सा महानगर क्षेत्रमा गुडिरहेको छ, जसबाट अवैध असुली समेत हुने गरेको छ।
पछिल्लो समय वीरगंजमा हुने ट्राफिक जाम र दुर्घटनाको मुख्य कारण अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ई-रिक्साहरू नै रहेको छ। तर, ट्राफिक प्रहरीले पनि चुपचाप बसेको देखिन्छ, जसको मुख्य कारण नै अवैध रकम असुली हो।
धेरैजसो ई-रिक्सा चालकहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिएको पाइन्छ, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। जहाँ मन लाग्यो, त्यहीँ पार्किङ गर्ने, सवारी चढाउने, ओराल्ने, घुमाउने लगायतका गतिविधिले वीरगंजको साँघुरो गल्लीहरूमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ। सडकमा खटिएका ट्राफिक प्रहरीले यसबाट फाइदा उठाउँदै फाइन काट्ने गरेको र कहिलेकाहीँ अवैध लेनदेनमै चालकहरूले उम्कने गरेको देखिन्छ।
वीरगंजका मुख्य चौकहरूमा पुग्दा मानिसभन्दा ई-रिक्साहरू नै बढी देख्न सकिन्छ। वीरगंजको घण्टाघर, रेल्वे रोड, ३ नम्बर रोड, भानु चौक, मुर्ली वा पावर हाउस चौक जहाँ गए पनि १० भन्दा बढी ई-रिक्सा पार्किङमै देख्न सकिन्छ। तर, नियामक निकाय भने मौन नै देखिन्छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका अनुसार उनीहरू ट्राफिक नियम पालनामा मात्र केन्द्रित छन् र कति सवारी साधन सञ्चालन गर्ने भन्ने अधिकार आफूहरूलाई नरहेको बताउँछन्। तर, वीरगंज बजारमा सडक क्षमताभन्दा दोब्बर ई-रिक्सा गुडिरहेको स्वीकार्छन्। “हामीसँग उपलब्ध स्रोत-साधनको भरमा ट्राफिक व्यवस्थापन गरिरहेका छौं,” प्रहरी निरीक्षक लोकराज भट्ट भन्छन्।
वीरगंज महानगरपालिकाका अनुसार ७५० को हाराहारीमा ई-रिक्साहरूले सञ्चालन अनुमति लिएका छन्। तर, यो तथ्यांक सही नभएको जानकारहरू बताउँछन्। यातायात व्यवस्था कार्यालय वीरगंजका अनुसार २०७३ असारपछि कुनै पनि ई-रिक्सा वा टेम्पु वीरगंजकाे ठेगानामा नामसारी गरिएको छैन। रुट परमिट पनि महानगरले नै हेर्दै आएको छ। तथ्यांक शाखाका अनुसार २०७३ असारसम्म वीरगंज महानगर क्षेत्रमा झण्डै १,००० ई-रिक्साहरू नामसारी भएका थिए। अहिले महानगरले रोक्का गरेपनि धेरै सवारी धनीहरूले बाहिरी ठेगाना देखाएर नामसारी गराएको पाइन्छ।
महानगर र यातायात व्यवस्था कार्यालयकाे तथ्यांक हेर्दा वीरगंजमा अधिकतम १,७०० ई-रिक्सा तथा टेम्पुहरू सञ्चालन अनुमति प्राप्त गरेको अनुमान गर्न सकिन्छ। तर, इ रिक्साकाे चाप हेर्दा वास्तविक संख्या २,००० भन्दा बढी रहेको सजिलै अनुमान गर्न सकिन्छ। आर्थिक लेनदेन तथा नेताको सिफारिसका कारण अहिले पनि धेरै ई-रिक्साहरू खरिद-बिक्री र रुट परमिट पाइरहेकाे स्राेतकाे दावी छ ।
नियामक निकायहरूको लापरबाहीकै कारण सर्वसाधारणलाई समस्या भइरहेको छ। वीरगंज महानगरले थप ई-रिक्सा सञ्चालनको लागि रुट परमिट नदिने बताइसकेको भए पनि कसरी नयाँ सवारी साधनहरूले अनुमतिपत्र प्राप्त गरिरहेका छन् भन्ने प्रश्न अनुसन्धानको विषय बनेको छ।
ई-रिक्साले वीरगंज क्षेत्रमा सर्वसाधारणलाई आवागमनमा सहजता प्रदान गर्नुका साथै धेरै युवाहरूलाई रोजगारी दिएको छ। तर, यसको उचित व्यवस्थापन गर्नु सरकारकै दायित्व हो।
प्रतिक्रिया