
श्रेणी : BANNER
वीरगंज, १६ असार — वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा वीरगंज बजारको मुख्य सडक फराकिलो बनाउने बहुप्रतीक्षित अभियान पुनः सुरु भएको छ। त्रिभुवनराज पथ क्षेत्रमा अतिक्रमण हटाउने कार्य सुरु भएसँगै वीरगंजको शहरी विकासले गति लिएको देखिएको छ।
त्रिभुवनराज पथ क्षेत्रमा लामो समयदेखि संरचना बनाएर बसेका स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हालै खारेज भएपछि काम अघि बढाइएको हो। मेयर सिंहका अनुसार अदालतले कुनै निर्देशनात्मक आदेश नदिएको कारण अतिक्रमण हटाउने काममा अब कुनै कानुनी झन्झट छैन। यसअघि महानगरपालिकाले ३० दिने सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरे पनि स्थानीयहरूले चासो नदेखाएपछि १६ असारदेखि डोजर परिचालन गरी अतिक्रमण हटाउने कार्य सुरु गरिएको हो।
महानगरको डोजरसहितको टोलीले भन्सार क्षेत्रबाट मेनरोड हुँदै गण्डक चोकसम्म २५ मिटर सडक विस्तारको लक्ष्यसहित अभियान अघि बढाएको छ। मेयर सिंहले भने, “सर्वोच्च अदालतको आदेश पालना गर्दै हामीले आजदेखि सडक विस्तारको काम थालनी गरेका छौं। हामीले सहरलाई व्यवस्थित र दिगो बनाउन कुनै पनि अवरोध सहन सक्दैनौं।”
त्रिभुवनराज पथ र वीरगंज–पथलैया हाइवे: विकासको मेरुदण्ड
वीरगंज शहरको मुटु मानिने त्रिभुवनराज पथ वीरगंज भित्रको प्रमुख व्यापारिक मार्ग हो, जुन वीरगंजको ऐतिहासिक व्यापारिक केन्द्र, विद्यालय, बैंक, यातायात कार्यालय, अस्पताल लगायत महत्वपूर्ण स्थानहरू जोड्ने मार्ग हो।
यो मार्ग भारत–नेपाल सिमाना (रक्सौल) बाट भित्रिने ट्राफिकको प्रवेशद्वार पनि हो, जुन वीरगंज–पथलैया हाइवे सँग सिधै जोडिएको छ। वीरगंज–पथलैया हाइवे तराई क्षेत्रको सबैभन्दा व्यस्त राणनीतिक मार्ग हो, जसले भारतको कलकत्ता बन्दरगाहसँग नेपाललाई जोड्ने मालवाहक मार्गको रूपमा काम गर्छ।
सडक साँघुरो, अव्यवस्थित र अतिक्रमित भएका कारण दैनिक सवारी जाम, दुर्घटना र प्रदूषणको समस्या बढिरहेको थियो। अहिले सुरु भएको सडक विस्तार अभियानले यी सबै समस्याको समाधान गर्ने विश्वास गरिएको छ।
स्थानीय समर्थन र विरोध
यद्यपि केही स्थानीयवासीले मुआब्जा नपाएको भन्दै विरोध जनाएका छन्, तर अधिकांश नागरिकले अभियानको समर्थन गरेका छन्। स्थानीय व्यापारी, युवा र नागरिक समूहहरूले सडक चौडाइ भएपछि वीरगंज शहरको मुहार नै फेरिने बताएका छन्।


प्रतिक्रिया