वीरगंज (पर्सा), २ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा दोश्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ बुधवारदेखि सुरु भएको छ ।
वीरगंजको आदर्शनगर रङ्गशालामा आयोजित उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको शुभारम्भ गरे । उद्घाटन क्रममा उनले विद्यार्थीहरूलाई खेल भावना केन्द्रमा राखेर सहभागिता जनाउन आग्रह गर्दै प्रतियोगिताले महिला खेलकुद प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
महानगर प्रमुख सिंहले बालबालिकासँग जोडिएका खेलकुद प्रतियोगितामा भाषणभन्दा खेललाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै वीरगंजमा खेलकुद पूर्वाधार विकासका लागि महानगरले निरन्तर लगानी गरिरहेको जानकारी दिए ।
प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, अनुशासन, नेतृत्व क्षमता र टिमवर्क विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । महिला क्रिकेट प्रवद्र्धन र बालबालिकाको सर्वाङ्गीण विकास नै प्याब्सनको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
गत वर्ष सफल पहिलो संस्करणपछि थप उत्साहका साथ आयोजना गरिएको प्रतियोगिता पुस १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा वीरगंजका ३६ वटा प्याब्सन सदस्य विद्यालयका टिम सहभागी छन्, जसमा ३३६ छात्रा र ४३४ जुनियर छात्र गरी कुल ७७० खेलाडीले सहभागिता जनाउँदै छन् ।
प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार प्रतियोगिता आयोजना गर्न ६ देखि ७ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ, जुन सम्पूर्ण खर्च प्याब्सन वीरगंजले नै बेहोरेको छ । टी–१० नकआउट ढाँचामा सञ्चालन हुने यस प्रतियोगिताले सीमित समयमै युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।




प्रतिक्रिया