वीरगन्ज :

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.3kViews
1125 Shares

वीरगंज (पर्सा), ३ कात्तिक । वीरगंज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै बैज्ञानिक ठेगाना प्रणाली लागु गर्न ड्रोन मार्फत भू–सर्वेक्षण गर्ने कार्य शुक्रबारबाट सुरु गरेको छ । भू सुशासनका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

नेपाल भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरिएको हो । महानगर प्रमुख सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुवात गरेका हुन् । बढ्दो सहरीकरणसँगै जनघनत्व बृद्धि हुँदै गए पनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठीनाई हुँदै आएको थियो ।

भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख सिंहले बताए । भू–तथ्यांक व्यवस्थापन भए पछि बैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुँदा समग्र महानगरपालिकाको समृद्धिमा यसले काम गर्ने पनि उनले वताए ।

युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत यो परियोजना सुरु भएको हो । महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा आजबाट ड्रोन परिचालन भएको छ । ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *