श्रेणी : मधेस
वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बीना जैसवाल कुर्मीले पर्सा निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई थप सक्रिय बनाएकी छन्। उनी घरदैलो कार्यक्रममार्फत टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र अपेक्षा सुन्ने कार्यमा जुटेकी हुन्।
अभियानअन्तर्गत कुर्मीले वडा नम्बर २७ का विभिन्न बस्ती तथा टोलहरूमा पुगेर स्थानीय बासिन्दासँग संवाद गरेकी थिइन्। घरदैलोका क्रममा उनले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धताहरू प्रस्तुत गरिन्। साथै उनले मतदातालाई सोचविचार गरी योग्य उम्मेदवार चयन गर्न आग्रह समेत गरिन्।
स्थानीय बासिन्दाले दैनिक जीवनसँग जोडिएका पूर्वाधार, खानेपानी, सरसफाइ, सडक तथा स्वास्थ्य सेवाका समस्याहरू राखेका थिए। ती विषयहरूलाई आफूले गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता उम्मेदवार कुर्मीले व्यक्त गरिन्।

घरदैलो अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। अभियानलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थप बस्तीहरूमा पुगेर जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया