श्रेणी : मधेस
वीरगन्ज, २७ मसिर । वीरगन्ज महानगरपालिकाले घण्टाघरस्थित वि.पी उद्यानको जग्गा खाली गर्न अनुरोध गरेको छ ।बुधवार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णले एक सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरस्थित वि.पी. उद्यानको जग्गा खाली गर्न अनुरोध गरेका छन् ।
कर्णले जारी गरेको सूचनामा भनिएको छ, ‘घण्टाघरस्थित वि.पी. उद्यान हाताभित्र सञ्चालमा रहेको तरकारी तथा फलफुल बजार १५ दिनभित्र खाली गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
साथै महानगरपालिका– १६ नगवास्थित कृषि बजारको लागि निर्धारण गरिएको स्थानमा जान पनि वीरगन्ज महानगरले अनुरोध गरेको छ ।
यसअघि वि.पी. उद्यानको जग्गाको विषयमा परेको मुद्दा किनारा लागेपछि महानगरपालिकाले उद्यान बनाउने प्रक्रिया शुरु गर्न जग्गा खाली गराउन लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनकाअनुसार जुन परियोजनका लागि जग्गा बनाइएको हो, सोही परियोजनका लागि प्रयोग गर्नुपर्छ ।
उद्यानको जग्गा खाली गराए लगत्तै उद्यान निर्माणको काम थालनी गरिने सिंहले बताए ।
प्रतिक्रिया