
श्रेणी : मधेस
जनकपुर,२२ पुस । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा.२ झ ३६४३ नम्बरको सरकारी स्कोर्पियो गाडी तोडफोड गरेकी छिन्। गाडी समयमा लिन नआएको झोँकमा उपाध्यक्षले इँटा र ढुंगाले गाडीको झ्याल, ढोका, र अन्य भागमा क्षति पुर्याएको चालक बाबुनाथ यादवले बताए।
उपाध्यक्ष सिंहले बिहान ९ बजे घरमा लिन बोलाएको समयमा गाडी नपुगेपछि गाउँपालिका अध्यक्षकै घरअगाडि पार्क गरिएको गाडी तोडफोड गरेकी हुन्। गाडीको उपलब्धता र सुविधाबारे लामो समयदेखि विवाद चल्दै आएको थियो।
स्थानीयहरूले उपाध्यक्ष सिंहमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग, उपद्रव सिर्जना गर्ने, र सकारात्मक योगदान दिन नसकेको आरोप लगाएका छन्।
हाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एउटै सरकारी गाडी चढ्दै आएका छन्। अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले चारचक्के गाडी प्रयोग गरे पनि उपाध्यक्षलाई नियमित गाडी सुविधा उपलब्ध नगराइएको गुनासो उपाध्यक्षको छ।
आजको घटनाले स्थानीय तहको आन्तरिक व्यवस्थापनमा देखिएको असन्तुलन र विवादलाई थप सतहमा ल्याएको छ। सार्वजनिक सम्पत्तिको सुरक्षा र उपयोगबारे थप गम्भीर छलफल आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया