श्रेणी : BANNER
वीरगंज, १३ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै गर्दा एक उद्योग र त्यससँग जोडिएको जनस्वास्थ्यको गम्भीर प्रश्नले राजनीतिक बहसलाई नयाँ मोड दिएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्गटा को प्रमुख लगानी रहेको जगदम्बा इन्टरप्राइजेज बाट निस्किने बाक्लो र विषालु धुवाँका कारण स्थानीय बासिन्दाको दैनिक जीवन कष्टकर बन्दै गएको आरोप लगाइएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत पर्ने उद्योग क्षेत्र वरपरका बासिन्दाका अनुसार फलाम गलाउने भट्टीबाट निस्किने धुवाँले सास फेर्नसमेत कठिन हुने अवस्था सिर्जना भइरहेको छ। परसवा, पलदार टोल, बदन नगर, टेढा गाउँलगायत बस्तीका नागरिकहरू श्वासप्रश्वाससम्बन्धी रोग, आँखाको समस्या र दीर्घकालीन स्वास्थ्य जोखिममा परिरहेको स्थानीय अगुवाहरूको गुनासो छ।
महानगरपालिकाको स्वास्थ्य शाखासँग सम्बन्धित स्रोतका अनुसार उद्योग आसपासका बस्तीमा दम र क्षयरोग (टिबी) का बिरामीको संख्या महानगरका अन्य क्षेत्रको तुलनामा बढी देखिएको छ। विज्ञहरूले उद्योगमा सञ्चालन भइरहेको कथित अवैध भट्टीले वातावरण, मानव स्वास्थ्य, पशुपन्छी तथा हरियाली सबैमा दीर्घकालीन क्षति पुर्याइरहेको चेतावनी दिएका छन्।
स्थानीयवासीले उद्योगबाट निस्किने फोहोर पानीले श्रीसिया नदी समेत प्रदूषित बनाएको आरोप लगाएका छन्। नदीमा आश्रित जलचर प्राणीहरू संकटमा परेको र हावा–पानी दुवै प्रदूषित बनेको उनीहरूको भनाइ छ।
स्थानीयहरूको आरोप छ—अनिल रुङ्गटा राजनीतिक पहुँचको आडमा मानव बस्ती नजिकै नियमविपरीत उद्योग सञ्चालन गर्दै आएका छन्। उनी नेपाली कांग्रेस का निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का निकट मानिन्छन्। पछिल्लो समय पार्टीभित्रको शक्ति संघर्षका क्रममा विशेष महाधिवेशनमा गगन थापा पक्षमा खुलेको चर्चा पनि स्थानीयस्तरमा उठिरहेको छ।
त्यसैगरी, उद्योगपति विनोद चौधरी को दबाबमा विशेष अधिवेशनका लागि ठूलो आर्थिक सहयोग गरिएको र त्यसकै आधारमा रुङ्गटालाई पुनः उम्मेदवार बनाइएको आरोपले स्थानीय तहमा असन्तुष्टि चुलिएको बताइन्छ।
“जनताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यक्तिलाई जनप्रतिनिधि बनाउन खोज्नु दुःखद हो,” एक स्थानीयले आक्रोश व्यक्त गरे। उनका अनुसार हजारौं नागरिकलाई प्रत्यक्ष असर पार्ने उद्योगका सञ्चालकलाई कारबाही गर्नुको सट्टा टिकट दिनु राजनीतिक नैतिकतामाथि प्रश्न हो।
भट्टीबाट अत्यधिक धुवाँ निस्कँदा सास फेर्न नसकिने अवस्था सिर्जना हुने भन्दै स्थानीयले पटक–पटक उद्योगको मूल गेटमा धर्ना र प्रदर्शन गर्दै आएका छन्। तर राजनीतिक पहुँचका कारण प्रभावकारी कारबाही हुन नसकेको उनीहरूको दाबी छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुङ्गटा पर्सा–१ बाट उम्मेदवार बनेका छन्। पैसा र शक्तिको आडमा निर्वाचित भएमा बस्ती नै उजाडिन सक्ने खतरा रहेको भन्दै स्थानीयवासी त्रसित बनेका छन्।

प्रतिक्रिया