श्रेणी : BANNER
धनगढी । विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।
रावललाई बिहीबारसम्म विश्वासको मत लिने समय थियो । तर नागरिक उन्मुक्ति पार्टीको अडानका कारण रावलले विश्वासको मत प्राप्त गर्न सकेनन् ।
नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधान अनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो ।
थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहितका बन्दी रिहाई गर्नुपर्ने सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार ढलेको हो ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनबाट २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने बिहीबार अन्तिम दिन थियो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुत्तिका ७ र राप्रपाका १ जना सांसद छन् । बिहीबारको बैठकमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएन ।
प्रतिक्रिया